धादिङ :
अन्तर्राष्ट्रिय धादिङ समाजको आयोजनामा तथा मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालको प्राविधिक सहयोगमा मंसिर २६ र २७ गते खनियाबास गाउँपालिका–स्थित दार्खामा सञ्चालन गरिएको निःशुल्क विशेष स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। खनियाबास गाउँपालिका–४ स्थित खनियाबास ग्रामीण अस्पतालको परिसरमा सञ्चालन गरिएको उक्त शिविरबाट कुल ७७७ जना स्थानीय बासिन्दाले विभिन्न स्वास्थ्य सेवा प्राप्त गरेका छन्।
दुर्गम तथा आर्थिक रूपमा कमजोर नागरिकहरूलाई लक्षित गरी आयोजना गरिएको यस स्वास्थ्य शिविरमा टाढा–टाढाबाट स्थानीयवासीको उल्लेखनीय सहभागिता देखिएको थियो। सहज र निःशुल्क रूपमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित सञ्चालन गरिएको शिविरमा जनरल फिजिसियन, महिला रोग विशेषज्ञ, डेन्टल रोग विशेषज्ञ तथा हाड–जोर्नी विशेषज्ञसहितका चिकित्सकहरूको टोलीले निरन्तर परामर्श तथा उपचार सेवा प्रदान गरेको थियो।
अन्तर्राष्ट्रिय धादिङ समाजका सल्लाहकार एवम् डिपिन धादिङका अध्यक्ष डा. प्रताप छत्कुलीका अनुसार शिविरको सेवा मंसिर २६ गते बिहान १० बजेदेखि दिउँसो ५ बजेसम्म र मंसिर २७ गते दिउँसो १ बजेसम्म सञ्चालन गरिएको थियो। शिविरमा स्वास्थ्य परीक्षण, परामर्श, औषधि वितरण तथा आवश्यक परेमा थप उपचारका लागि सिफारिससमेत गरिएको आयोजकले जनाएको छ।
शिविर समापन कार्यक्रममा खनियाबास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङले शिविरमा सेवा प्रदान गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई सम्मान गर्नुभएको थियो। सो अवसरमा उहाँले दुर्गम क्षेत्रका नागरिकहरूको स्वास्थ्य पहुँच विस्तारमा यस्ता निःशुल्क स्वास्थ्य शिविरहरू अत्यन्त उपयोगी हुने उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रम सफल बनाउन अन्तर्राष्ट्रिय धादिङ समाजका अध्यक्ष राजन खकुराल, धादिङ समाज अमेरिका अध्यक्ष टकबहादुर रुवाली तथा धादिङ समाज बेल्जियमका अध्यक्ष कृष्णप्रसाद न्यौपानेलगायतको विशेष सहयोग रहेको थियो। त्यस्तै, स्थानीय तह, स्वास्थ्यकर्मी, स्वयंसेवक तथा विभिन्न संघ–संस्थाहरूले सक्रिय सहयोग र समन्वय गरेका थिए।
यस निःशुल्क स्वास्थ्य शिविरले दुर्गम क्षेत्रका नागरिकहरूलाई समयमै स्वास्थ्य सेवा प्राप्त गर्न महत्वपूर्ण योगदान पुर्याएको स्थानीयवासीले प्रतिक्रिया दिएका छन्।
