Skip to main content

Sacho Khabar

नीलकण्ठ–८ मा रहेको ऐतिहासिक रामकोट दरबार पर्यटकीय गन्तव्य बन्दै

धादिङ,
धादिङ जिल्लाको नीलकण्ठ नगरपालिका–८ मा अवस्थित ऐतिहासिक रामकोट दरबारलाई संरक्षण र पुनःनिर्माण गर्दै पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने काम अघि बढाइएको छ।

करिब पाँच सय वर्ष पुरानो मानिने यो दरबार क्षेत्रमा हाल नगरपालिका र वडाको पहलमा सरसफाइ, रंगरोगन र संरचनागत सुधारका कार्य भइरहेको छ। दशैँतिहारको अवसरमा दरबार वरिपरि बनाइएको ठूलो ८ पिर्के रङगटे पिङ खेल्न र घुम्न आउने भीडका कारण यो स्थल अझै आकर्षक बनेको छ।

यसै क्रममा, नगरपालिका र प्रदेश सरकारको बजेट सहयोगमा ऐतिहासिक व्यक्तित्व राजा राम शाहाको शालिक निर्माण गरिएको छ। शालिक अनावरणसँगै दरबार परिसरको ऐतिहासिक र सांस्कृतिक महत्व झनै प्रष्ट भएको छ।

वडा अध्यक्ष प्रकाश कुमार श्रेष्ठले भने, “रामकोट दरबार हाम्रो गौरव र पहिचान हो। यसको संरक्षणले धादिङलाई मात्र होइन, सम्पूर्ण प्रदेशलाई पर्यटनको नक्सामा जोड्नेछ। दशैँतिहारमा यहाँ देखिने भीडले यसको सम्भावना अझै प्रष्ट पारेको छ
घुम्न आएका स्थानीय बासिन्दा नीलकण्ठ–४ की उमा श्रेष्ठ भन्छिन्, “यो ठाउँ एकदम रमाइलो छ। यहाँसम्म आउने बाटो अलि राम्रो बनाइदिनु भए अझै सजिलै आउन सकिन्थ्यो।”  यस्तो छ दरबारको इतिहास

तत्कालीन गोरखा राज्यका राजा राम शाहले आफ्‌नो शासनकालको तेस्रो बर्ष (वि.स.१६६६) मा गोरखा राज्यलाई पूर्वतर्फ विस्तार गर्ने क्रममा यहाँका घले राजाहरूलाई कुम्पुरतिर लखेटी यस स्थानमा सैन्य तथा प्रशासनिक केन्द्र (कोत) स्थापना गरेको हुदाँ यस स्थानको नाम राम शाहको कोत अर्थात रामकोट रहन गएको हो। उक्त समयमा यस स्थानबाट शक्तिशाली राज्यहरू नुवाकोट, काठमाण्डौ, मकवानपुर आदिमा आक्रमण गर्ने र गोरखा राज्यको व्यापारलाई पश्चिमी नेपाल हुँदै काठमाण्डौ र तिब्बततर्फ व्यापार गर्ने अभिप्रायले यस क्षेत्रको प्रयोग भएको थियो।

आफ्‌नो शासन कालमा माना, पाथी, ढक र तुलोको शुरुवात गरी न्यायप्रेमी राजाको पहिचान बनाएका राष्ट्रिय विभूति राम शाहले यस स्थानमा रामकोटगढी र रामकोट दरबार स्थापना गरेका थिए। हाल रामकोटमा तत्कालीन दरबारको भग्नावशेषसँगै मण्डलेश्वर महादेव र मण्डली देवीको मन्दिर छ।. घोडा सवारको क्रममा बेलौते कुकुरसहित राजा लडेको स्थान (जहाँ अहिले पनि पूजा गरिन्छ। हतियार बनाएको फलामको धाउहरू बारीमा छरिएर रहेका छन्। दरबारमा पानीलगाएत खरखजाना ल्याउन प्रयोग हुने तीन दिशातर्फ भिर काटेर घोडा हिडाउँने घोडेटो बाटो र सेनाको परेड खेलाउने टुंडिखेल (उत्तर तर्फको टार गाउँ) तथा रानीधारा. दुई स्थानमा सुरुङ, लुकेर वैरीलाई तारो हान्ने बंकर (दक्षिण पश्चिमको पारकुना धोद्रे भन्ने स्थान) रहेको छ। तत्कालीन अवस्थामा यस स्थानको दरबार सगै चार दिशातर्फ अन्य सहायक कोटहरु । पूर्वमा भैरवी कोट उत्तरमा ज्यामरुङ कोट पश्चिममा मैदीकोट र दक्षिणमा नलाङ बलदेवी कोट) रहेका थिए। नेपाल एकीकरणको अभियानको क्रममा राजा पृथ्वीनारायण शाहले रामकोटबाट सम्पूर्ण प्रशासन नुवाकोटसहितको नेपालको पूर्वतर्फ एकीकरण अभियान सुरु गर्ने उदेश्यले हालको सुनौलाबजार सारेको र सोही स्थानमा पछि बेनीघाटको प्रशासनसमेत स्थानान्तर गरी धादिङ जिल्लाको सदरमुकाम बनाएको थियो।

विभिन्न चरणमा भएको स्थलगत भ्रमण तथा अनुसन्धानबाट नेपाल सरकार पुरातत्व विभागको मिति २०८१ मंसिर १९ गतेको पत्र बमोजिम यो स्थान करिब पाँचसय बर्षभन्दा अधिको संरचना रहेको र यस स्थानमा राम शाहले दरबार स्थापना गरी शासन गरेको प्रमाणित गरी ऐतिहासिक एवं पुरातात्विक महत्व रहेको उल्लेख गरिएको छ।

नगरपालिकाले रामकोट दरबारसँगै पौवा दरबार, ज्याम्रुङ दरबार, धुवाँकोट, भैरवीकोट लगायतका अन्य ऐतिहासिक सम्पदालाई उत्खनन र परम्परागत स्वरूपमा पुनःनिर्माण गर्ने दीर्घकालीन योजना अघि सारेको छ।

स्थानीयले यस कदमले रोजगार सिर्जना, होमस्टे, हस्तकला र कृषि उत्पादनको बजार विस्तारमा मद्दत पुग्ने अपेक्षा गरेका छन्।

संरक्षण र पुनःनिर्माण कार्य सम्पन्न भएपछि रामकोट दरबार धादिङको मात्र नभई प्रदेशकै महत्वपूर्ण पर्यटकीय गन्तव्य बन्ने विश्वास गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

“एक लायन, एक बिरुवा” अभियानः आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा जुट्यो लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

“एक लायन, एक बिरुवा” अभियानः आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा जुट्यो लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

धादिङवेशी, धादिङ "पहिले आफ्नो घर वरपरको वातावरण स्वच्छ र सुन्दर बनाउन सके मात्र समाज र देशका लागि दिगो योगदान दिन सकिन्छ" भन्ने...
फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

  धादिङ, असार १३। धादिङको गङ्गाजमुना गाउँपालिका–५, फुलखर्क मा निर्माण सम्पन्न भएको फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना को स...
कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

  चितवनको कुरिनटारमा Mahindra को नयाँ “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” सार्वजनिक गरिएको छ। Agni Group(!) अन्तर्गतको Ag...

मुन्थला पूर्णिमा मेला–२०८२ भव्य रूपमा सम्पन्न

गोरखा , बैशाख १९ अशोक श्रेष्ठ गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ स्थित धार्मिक तथा ऐतिहासिक स्थल मुन्थला मन्दिरमा यस वर्ष पन...