धादिङ, भदौ ९ ।
हरितालिका तीजको अवसर पारेर नीलकण्ठ नगरपालिका–४ नं वडा कार्यालयले वडास्तरीय तीज गीत प्रतियोगिता गर्ने भएको छ । प्रतियोगिता आगामी भदौ ९ गते सोमबार बिहान १० बजे श्री गैरिगाउँ माध्यमिक विद्यालयको प्राङ्गणमा हुने वडा कार्यालयले जनाएको छ ।
“सामाजिक विकासमा महिलाको भूमिका” शीर्षकमा आधारित हुने प्रतियोगितामा अधिकतम ४ जना सम्मको समूहले सहभागी हुन सक्नेछन् । समूह दर्ता शुल्क २०० रुपैयाँ तोकिएको छ भने दर्ता गर्नुपर्ने अन्तिम मिति साउन ८ गते साँझ ५ बजेसम्म तोकिएको छ ।
प्रतियोगितामा पहिलो हुने समूहलाई ६ हजार रुपैयाँ, दोस्रो हुनेलाई ४ हजार रुपैयाँ, तेस्रो हुनेलाई २ हजार रुपैयाँ तथा सान्त्वना पुरस्कार अन्तर्गत १ हजार रुपैयाँ वितरण गरिनेछ ।
गीतको बोल शिष्ट, सभ्य र सन्देशमूलक हुनुपर्ने र कुनै पनि व्यक्तिविशेषलाई आक्षेप गर्ने वा जात, जाति, धर्म र सम्प्रदायबीचको सुसम्बन्धमा खलल पार्ने गीत स्वीकार नगर्ने वडा कार्यालयले जनाएको छ । साथै मौलिक संस्कृतिलाई झल्काउने भेषभूषालाई विशेष प्राथमिकता दिइनेछ ।
वडा कार्यालयका कार्यवाहक अध्यक्ष हेम बहादुर श्रेष्ठका अनुसार प्रतियोगिताले महिलाको प्रतिभा उजागर गर्नका साथै मौलिक संस्कृतिको संरक्षण र प्रवर्द्धनमा योगदान गर्नेछ ।
