धादिङ- उत्तरी धादिङको सिङ्ल्हामा प्रथम सिङ्ल्हा पर्यटन महोत्सव-२०८२ भव्यताका साथ सम्पन्न भएको छ ।सिङ्ल्हा पर्यटन क्षेत्र विकास समाजको आयोजनामा वैशाख २७ गतेदेखि २९ सम्म तीन दिने महोत्सव सम्पन्न भएको हो ।समाजले बुद्ध जयन्तीको अवसर पारेर सिङ्ल्हामा विशेष धार्मिक एवम् सांस्कृतिक महोत्सवको आयोजना गरेको हो ।

प्राकृतिक सुन्दरताको खानी, सांस्कृतिक रूपमा सम्पन्न र ऐतिहासिक महत्त्व बोकेको पवित्र धार्मिक तपाेभूमि सिङ्ल्हा माने धादिङको खनियाँवास गाउँपालिका र रुबी भ्याली गाउँपालिकाको सीमा क्षेत्रमा पर्दछ । समुन्द्री सतहबाट चार हजार दुई सय मिटरको उचाइमा अवस्थित सिङ्ल्हा क्षेत्र धादिङ, नुवाकोट र रसुवाको सङ्गम स्थल पनि हो ।

सिङ्ल्हामा प्रत्येक वर्ष जनै पूर्णिमाको दिन विशेष मेला लाग्ने गरेको छ । परापूर्वकालदेखि नै तामाङ समुदायका बोम्पो (झाँक्री) र लामाहरू प्रत्येक वर्षको भदौ पूर्णिमा(जनै पूर्णिमा)को दिन सिङ्ल्हामा प्रार्थना गर्न जाने प्रचलन रहेको छ । बोम्पोहरुले आफ्ना शक्ति बढाउन वा नयाँ चेलाहरूलाई दीक्षान्त प्रदान गर्न सिङ्ल्हालाई रोज्ने गर्दथे । पुराना बाेम्पाेहरू थप शक्ति बढाउन र नयाँ बाेम्पाेहरू गुरुबाट दीक्षित हुन सिङ्ल्हा जाने गर्दछन् ।
नै पूर्णिमाको बेला (साउन-भदाैकाे महिना)मा पानी पर्ने र मेला भर्न जान कठिन हुने भएकाले बुद्धजयन्तीकाे अवसरमा मेलाको आयोजना गरिएको सिङ्ल्हा पर्यटन विकास समाजका अध्यक्ष मङ्ग तामाङले बताए ।

प्राकृतिक सुन्दरताले भरिएको सिङ्ल्हा बोन धर्म र बुद्ध धर्मसँग जोडिएको पवित्र धार्मिक स्थल हो । परापूर्वकालदेखि नै बाेम्पाेहरू जनैपूर्णिमाकाे अवसरमा यहाँ आउने र विशेष मेला पनि भर्ने गरेको छ । तर, उक्त समयमा पानी पर्ने समय भएकाले टाढाका मानिसहरू आउन सक्दैनन्”, अध्यक्ष तामाङले भने, “बुद्ध जयन्ती (वैशाख पूर्णिमाको) अवसरमा मेला आयोजना गर्दा टाढा टाढाका मानिसहरू पनि पुग्न सक्छन् । यस बेला मौसम सफा पनि रहन्छ । त्यसैले हामीले बुद्ध जयन्तीको अवसरमा पनि मेला आयोजना गर्न थालेका हौँ ।”
यस वर्षदेखि प्रत्येक वर्ष बुद्धजयन्तीकाे अवसरमा मेलाको आयोजना गरिने तामाङले बताए । “यस वर्ष हामीले सुरुवात गर्न लागेका हौँ । अब आगामी वर्षहरूमा पनि बुद्धजयन्तीकाे अवसरमा मेला निरन्तर लाग्नेछ ।”

त्यसैगरी महोत्सवका संयोजक एवम् सामाजिक अभियन्ता दिनेश तामाङले सिङ्ल्हा क्षेत्रको पर्यटन प्रवर्द्धन, विकास र विस्तारमा टेवा पुर्याउने उद्देश्यले महोत्सवको आयोजना गरिएको बताए ।
उनले भने, “प्राकृतिक, धार्मिक, सांस्कृतिक एवम् ऐतिहासिक महत्त्व समेत बोकेको सिङ्ल्हा पर्यटनको अथाह सम्भावना बोकेर पनि लुकेको हिरा जसरी गुमनाम बसिरहेको छ । यस क्षेत्रमा पर्यटनको विकास गर्न सके धादिङको उत्तरी भेगका बासिन्दाको जीवनमा समृद्धि आउन धेरै समय लाग्दैन ।”
सिङ्ल्हा गुरु रिम्पाेछे (पद्म सम्भव) ले तपश्या गर्नुभएको पवित्र तपाेभूमि, बोन धर्मका बाेन्पाे (झाँक्री) हरूको ज्ञानको मन्दिर समेत भएको हुनाले धार्मिक पर्यटनको विशेष सम्भावना रहेको उनले बताए ।

स्थानीय सरकार, कुनै सङ्घसंस्था वा दाताको सहयोग विना सिङ्ल्हा पर्यटन क्षेत्र विकास समाजले पहिलो पटक आयोजना गरेको महोत्सव भव्यताका साथ सम्पन्न भएको र आगामी वर्षहरूमा अझै व्यवस्थित र भव्य ढङ्गले महोत्सवको आयोजना गरिने संयोजक तामाङले बताए ।
“यो हाम्रो सिङ्ल्हा पर्यटन क्षेत्र विकास समाजको सानो प्रयासमा यति ठुलो महोत्सव सम्पन्न भएको छ । हामीलाई कसैको सहयोग पनि प्राप्त भएको छैन । आगामी वर्षहरूमा भव्य ढङ्गले महोत्सवको आयोजना गर्ने छौँ ।”

त्यसैगरी नेपाल तामाङ घेदुङ धादिङका अध्यक्ष दिपक कुमार तामाङले प्राकृतिक सुन्दरतासँगै धार्मिक आस्था, विश्वास, सांस्कृतिक महत्त्व र ऐतिहासिक महत्त्व बोकेको सिङ्ल्हाकाे पर्यटन प्रवर्द्धनका लागि महोत्सवको आयोजना गरिएको भन्दै सिङ्ल्हा पर्यटन क्षेत्र विकास समाजलाई धन्यवाद व्यक्त गरे ।
“यो सिङ्ल्हा अत्यन्तै शक्तिशाली पवित्र धार्मिक तपाेभूमि हो । यसको पर्यटन प्रवर्द्धन गर्न यो सिङ्ल्हा पर्यटन क्षेत्र विकास समाजले जुन महोत्सवको आयोजना गरेको छ । यसको लागि म धन्यवाद दिन चाहन्छु ।”, अध्यक्ष तामाङले भने ।
उनले सिङ्ल्हाले दर्शनार्थिहरूकाे मनोकाङ्क्षा पुरा गर्ने र सिङ्ल्हाकाे दर्शन पश्चात् आफ्ना पनि केही मनोकाङ्क्षाहरू पुरा भएको बताए । उनले शक्तिशाली देवीको भूमि, पर्यटनको सम्भावना बोकेको सिङ्ल्हाकाे विकास र पर्यटन प्रवर्द्धनमा राज्यको ध्यान नपुगेको गुनासो पोखे ।
“यस्तो महत्त्वपूर्ण, शक्तिशाली पीठ, धार्मिक मात्र नभएर प्राकृतिक सुन्दरताको खानी, पर्यटनको अथाह सम्भावना बोकेको सिङ्ल्हाकाे विकासको लागि राज्यको ध्यान पुगेन । राज्यले सिङ्ल्हालाई देखेकै छैन, चिनेकै छैन भन्दा पनि हुन्छ”, उनले भने, “सिङ्ल्हाकाे पर्यटन प्रवर्द्धन, आवश्यक पर्यटन पूर्वाधारहरूकाे निर्माण गर्न म राज्य सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।”
रूबी भ्याली गाउँपालिका वडा नम्बर-३ का वडाध्यक्ष फे दाेर्जे तामाङले सिङ्ल्हाकाे पर्यटनको विकास गर्न आवश्यक पहल गरिरहेको बताए ।
“रूबी भ्याली गाउँपालिका र खनियाँबास गाउँपालिकाको सीमा क्षेत्रमा अवस्थित यस सिङ्ल्हाकाे पर्यटन विकास गर्न हामीले विगतदेखि नै पहल गरिरहेका छौँ । यद्यपि हामीले पर्याप्त मात्रमा बजेट व्यवस्थापन गर्न सकिरहेका छैनौँ”, वडाध्यक्ष तामाङले भने, “म स्थानीय सरकार कार्यपालिका सदस्य भएको हिसाबले पनि यस क्षेत्रको पर्यटन प्रवर्द्धन गर्न सबै खालका प्रयासहरू गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।”
वडाध्यक्ष तामाङले सिङ्ल्हा क्षेत्रको पर्यटन विकासको लागि सुरुमा विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार पार्नुपर्ने बताए ।
“हामी राजनीतिक दल, जनप्रतिनिधि, सङ्घसंस्थाका प्रतिनिधिहरू, पत्रकार, नागरिक समाजका अगुवा, अभियन्ता, पर्यटन क्षेत्रका सरोकारवालाहरू सबै बसेर सर्वप्रथम यस क्षेत्रको पर्यटनको विकासको लागि डिपीआर तयार पारौँ”,वडाध्यक्ष तामाङले भने, “ता कि पछि गएर यस्तो बनाउनुपर्ने उस्तो भएछ भन्नुपर्ने अथवा भत्काउनुपर्ने अवस्था नहोस् ।”
महोत्सवमा बाेम्पाे (झाँक्री), लामाहरूको विशेष सांस्कृतिक झाँकी प्रस्तुत गरेका थिए । महोत्सवमा स्थानीय जनप्रतिनिधि, कर्मचारी, विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरू, सञ्चारकर्मीहरू, स्थानीय समुदाय लगायत करिब एक सय जनाको उपस्थिति रहेको थियो ।
सङ्घीय राजधानी काठमाडौँसँग जोडिएका जिल्ला धादिङको उत्तरी क्षेत्र पर्यटनको अथाह सम्भावना बोकेको भूमि हो । बहुमूल्य पत्थर रूबी पाइने भएकाले रूबी भ्यालीको नामले चिनिए पनि यस क्षेत्रको समग्र विकासको लागि राज्यको पर्याप्त ध्यान पुगेको छैन ।
प्रकृतिको अनुपम उपहार हो सिङ्ल्हा । जहाँबाट गणेश हिमाल, लाङटाङ हिमाल, पाल्दोर पिक, मनासलु हिमाललाई चुम्बन गर्न सकिन्छ । बौद्ध धर्मगुरु पद्य सम्भव (गुरु रिम्पाेछे)ले वास गरेको स्थल र शक्तिको रूपमा रहेको यस सिङल्हामानेमा दर्शन गर्नाले पापबाट मुक्ति मिल्ने तथा मनले चिताएको पुरा हुने जनविश्वास समेत रहेको छ । सिङ्ल्हा क्षेत्रमा थुप्रै प्राकृतिक कुण्डहरू, झर्नाहरू समेत रहेका छन् । लमतन्न परेर बसेका चौर, हरियाली डाँडापाखा, वनजङ्गल, वनस्पति, जीवजन्तु तथा पशुपंक्षीहरूकाे चिरबिरले स्वर्गको अनुभूति दिलाउँछ ।
