आज हरितालिका तीज, अर्थात् वैदिक सत्य सनातन हिन्दू धर्मावलम्बीहरुको विशेष पर्व।
हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन विशेष गरेर महिलाहरु नजिक रहेका शिव मन्दिरमा गइ पूजा आराधना गर्दछन्।
काठमाडौंको पशुपतिनाथ मन्दिरमा पनि भक्तजनहरुको भीड लागेको छ। कोरोना भाइरसको जोखिमका कारण मुख्य मन्दिरको ढोका बन्द गरिएपनि व्रतालु महिलाहरुले बाहिरैबाट महादेवको पूजाआराधना गरिरहेका हुन्।
आजको दिनमा निर्जल व्रत बसी पार्वती र महादेवको पूजा अर्चना गरेमा मनोकांक्षाहरु पूरा हुने धार्मिक मान्यता रहि आएको छ।
विवाहीत महिलाले आज आफू र श्रीमानको दीर्घायू र निरोगी बन्ने कामनासहित व्रत बस्ने गर्दछन् भने अविवाहीत महिलाले महादेव जस्तै सुन्दर र हरेक कुरामा साथ दिने सुशील श्रीमान पाउने मनोकामनासहित व्रत बस्ने गर्दछन्।
आज देशभरका शिवमन्दिरहरुमा व्रतालु महिलाहरुको भीड लागेको छ। पशुपतिनाथ मन्दिरमा बिहानैदेखि
व्रतालुहरु रातो सारीमा सजिएर पूजाका लागि पुगेका छन्।
सत्ययुगमा भाद्र शुक्ल तृतीयाकै दिन देवी पार्वतीले महादेवको व्रत बसी श्री महादेव स्वामी पाएकोले आजको दिनमा व्रत बसे सम्पूर्ण मनोकामना पूर्ण हुने धार्मिक मान्यता रहेको छ।
आजका दिन महिलाहरुले बिहानै उठेर नजिकै रहेको गंगा, नदी, तलाउ, पोखरी वा कुवा र धारामा गएर स्नान गरी शुद्ध भइ शिव पार्वतीको पूजा आराधना गर्ने गर्दछन्।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |