दक्षिणकाली नगरपालिका वडा नम्बर ७ स्थित दक्षिणकाली मन्दिर परिसरको पुरानो ट्वाइलेटमा मृत फेला परेकी सन्तोषी सुब्बाका हत्या आरोपीलाई प्रहरीले पक्राउ गरी बिहीवार सार्वजनिक गरेको छ ।
विभिन्न चराचुरुङ्गी र जनावरको आवाज निकालेर युट्युबमा चर्चामा आएकी सन्तोषी मन्दिर परिसरको शौचालयमा मृत अवस्थामा फेला परेकी थिइन् ।
उनको हत्या आरोपमा प्रहरीले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी– १४ घर भई दक्षिणकालीमा बस्ने तथा सह–चालकको काम गर्ने २९ वर्षीय सुरेश तिमल्सिनालाई पक्राउ गरेर सार्वजनिक गरेको हो ।
कसरी घट्यो घटना ?
प्रहरीका अनुसार असार ५ गते सन्तोषी घुम्दै फर्पिङ पुगेकी थिइन् । त्यो दिन उनी होटल पदम संवत्मा एक्लै बसिन् ।
बिहान १०/११ बजेको समयमा खाना खाएर होटलको सबै पैसा तिरेर फर्पिङ चेकिङ पोइन्टभन्दा केही तल दक्षिणकाली मन्दिरको विपरीततर्फ रहेको खाजा पसलमा छिरिन् ।
सुरेश त्यहीँ घरेलु मदिरा पिउँदै बसेका थिए । त्यही क्रममा सन्तोषी र सुरेशको चिनजान भएको प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको अनुसन्धानमा देखिएको छ ।
उनीहरू दिउँसो लगभग साढे १२ बजेदेखि साँझ ५ बजेसम्म खाजा पसलमा बसेका थिए ।
त्यसक्रममा सन्तोषीले आफू जनावरहरूको आवाज निकाल्ने कलाकार भएको बताइन् । युट्युबमा रहेका केही भिडियोहरू पनि सुरेशलाई देखाइन् । होटल सञ्चालकलाई पनि देखाइन् ।
सुरेशले मदिरा पिइरहे भने सन्तोषीले खाजा खाइन् । त्यस क्रममा उनले आफूसँग पैसा नभएको बताएको अनुसन्धानमा खुलेको अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) कृष्ण कोइरालाले बताए ।
‘सन्तोषीले खाना खाने पैसा नभएको बताएपछि सुरेशले आफ्नो गाडीमा बस्ने र खाने व्यवस्था मिलाइदिन्छु भनेको देखिन्छ,’ एसपी कोइरालाले भने, ‘त्यसपछि सहमतिमै उनीहरू त्यहाँबाट हिँडेको बयानमा सुरेशले बताएको छ ।’
दिउँसोदेखि मदिरा पिइरहेका सुरेशले अन्तिममा २० रुपैयाँको १ गिलास छ्याङ समेत थपेर दुवैजना सँगै निस्केको बयान प्रहरीलाई दिएका छन् ।
खाजा पसलबाट सुरेशले काम गर्ने गाडी राखेको ठाउँ करीब ५ सय मिटरको दूरीमा थियो । त्यहाँसम्म जाने क्रममा सन्तोषीको शरीरमा छोइँदा आफूलाई यौन इच्छा जागेको उनले प्रहरीसँगको बयानमा बताएका छन् ।
‘त्यसबीचमा सुरेशले यौन प्रस्ताव राखेको र सन्तोषीले पहिला मानेको बताएको छ । तर पछि सन्तोषीले यौनसम्पर्क गर्न नमानेपछि हत्या गरेको स्वीकारेको छ,’ प्रवक्ता कोइरालाले भने, ‘तर घटनास्थलको प्रकृति हेर्दा यौनसम्पर्क भएको जस्तो देखिन्छ ।’
घटनास्थलमा सन्तोषीको शव नग्न अवस्थामा थियो । सन्तोषीले लगाएका कपडा परपर फालेको अवस्थामा बरामद भएको थियो । अन्डरवेयर (भित्री वस्त्र) समेत छियाछिया पारेर फालेको अवस्थामा फेला परेको थियो ।
‘सन्तोषीको यौनीमा केही स्वाब पनि देखिएको छ । त्यस कारणले यौनसम्पर्कपछि विवाद भएर हत्या गरेको भन्ने देखिन्छ, तर फरेन्सिक ल्याबको रिपोर्ट नआइसकेकाले बलात्कार भएको थियो या थिएन भन्न सकिँदैन,’ अनुसन्धानमा खटिएका एक अधिकृतले भने ।
सुरेशले यौनसम्पर्क गर्न खोज्दा नमानेपछि विवाद हुँदा आवेशमा आएर हत्या गरेको बताएका छन् । विवादका क्रममा सन्तोषीले प्रतिवाद गर्दा उनको पाखुरामा चोट पनि देखाएको अनुसन्धान कार्यालयले जनाएको छ ।
सुरेशले विवाद भएपछि सन्तोषीको सलले घाँटी थिचेर हत्या गरेको र शव पहिचान नहोस् भनेर ढुंगाले मुखमा हानेर क्षतविक्षत बनाएको बयान प्रहरीलाई दिएका छन् ।
शव उनले भनेकैजस्तो अवस्थामा भेटिएको थियो । यहाँसम्म कि बंगारा समेत बाहिर फेला परेको थियो ।
प्रहरीका अनुसार साँझ साढे ६/७ बजेको समयमा हत्या भएको थियो ।
त्यसपछि सुरेश फर्पिङमा आएर घरमा बुवा बिरामी भएको बहाना गर्दै अर्जेन्ट ट्याक्सी रिजर्भ गरी २ हजार भाडा तिरेर काठमाडौंस्थित असनमा रहेको कोठामा आएका थिए ।
तर उनले ट्याक्सी चालकलाई भने आमा बिरामी भएको बताएको अनुसन्धान कार्यालयका प्रवक्ता एसपी कोइरालाले बताए ।
बोत्तलमा रहेको गँगटोको क्लुले छिट्टै भेटियो हत्यारा
६ गते खाजा पसलमा आउँदा सन्तोषी सुब्बाले बोत्तलमा गँगटो ल्याएकी थिइन् । त्यो बेलामा उनले गँगटो पकाएर खाँदा मीठो हुने बताएकी थिइन् ।
उनले शरीरमा विभिन्न मालाहरू लगाएको खाजा पसलका साहुलगायत अन्य मानिसहरूले देखेका थिए । सुरेशसँगै गएको पनि त्यहाँका सबैजनाले देखेका थिए ।
घटनास्थलमा प्रहरीले बोत्तलमा गँगटो पनि फेला पारेको थियो । उनले लगाएका माला तथा कपडाहरू पनि फेला पारेको थियो ।
त्यसैलाई आधार मानेर प्रहरीले सोधपुछ गर्दा सुरेशसँग गएको पत्ता लाग्यो ।
प्रहरीले उनलाई रेकी गर्न थाल्यो । त्यहाँबाट हिँडेपछि मोबाइल स्विच अफ गरेका कारणले प्रहरीले तुरुन्तै सुरेशलाई पक्राउ गर्न सकेन ।
खोज्दै जाँदा प्रहरीले असनबाट पक्राउ गर्यो ।
सुरेशको कोठामा सन्तोषीको मोबाइल, चार्जर लगायतका सामानहरू पनि बरामद गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी चन्द्र कुबेर खापुङले बताए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |