सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार भारतमा पछिल्लो २४ घण्टामा ६२ हजार २२४ जना कोरोनाभाइरसबाट थप सङ्क्रमित भएका छन् ।
यो सङ्ख्या अघिल्ला दिनहरुको भन्दा कम हुँदै गएको हो । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले ३.२२ प्रतिशतको दरले सङ्क्रमण घटेको जनाएको छ ।
पछिल्लो नौ दिनमा औसतमा ९ प्रतिशतको दरले सङ्क्रमितहरुको सङ्ख्यामा कमी हुँदै आएको मन्त्रालयका अधिकारीहरुले जनाएका छन् ।
त्यसैगरी सक्रिय अवस्थामा रहेका सङ्क्रमितहरुको सङ्ख्या पनि घट्दै गएर अहिले आठ लाख ६५ हजार ४३२ रहेको छ ।
सक्रिय सङ्क्रमितहरुको सङ्ख्या घटेर ७० दिनपछि अहिले पहिलो पटक नौ लाखभन्दा कम भएको अधिकारीहरुले जानकारी दिएका छन् ।
मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार भारतमा कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएकाहरुको दर ९५.८० रहेको छ ।
भारतमा अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या दुई करोड ९६ लाख ३३ हजार १०५ पुगेको मन्त्रालयले जनाएको छ ।
त्यसैगरी भारतमा कोरोनाका कारण अहिलेसम्म कुल तीन लाख ७९ हजार ५७३ जनाको मृत्यु भएको देखिएको छ ।
ती मध्ये दुई हजार ५४२ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।
पछिल्लो एक दिनमा भारतमा एक लाख सात हजार ६२८ जना सङ्क्रमणमुक्त भएको पाइएको छ ।
योसँगै सङ्क्रमणमुक्त भएकाहरुको कुल सङ्ख्या दुई करोड ८३ लाख ८८ हजार एक सय रहेको छ ।
भारतको स्वास्थ्य अनुसन्धान परिषदका अनुसार भारतमा अहिलेसम्म कुल ३८ करोड ३३ लाख छ हजार ७९१ पटक कोरोना परीक्षण गरिएको छ ।
त्यस्तै २६ करोड १९ लाखलाई कोभिड–१९ विरुद्धको खोप लगाइएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |