नेपालमा भोलि (मङ्गलबार)बाट कोरोना भाइरसविरुद्धको खोपको दोस्रो डोज दिन थालिने भएको छ ।
सरकारले खोपको दोस्रो डोज लगाउन सुरु गर्ने भएको हो । सरकारी अधिकारीका अनुसार खोप अभियान सुरु भएपछि पहिलो डोज लगाएकाहरुलाई भोलिदेखि वैशाख ११ गतेसम्म दोस्रो डोज दिइने छ ।
कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका चार लाख ३९ हजार जनाले दोस्रो डोज प्राप्त गर्ने खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमले बताए । पहिलो डोजमा दिएकै कम्पनीको खोप दोस्रो डोजमा पनि दिइने उनको भनाइ छ ।
नेपाल सरकारले २०७७ साल माघ १४ गतेदेखि कोरोनाविरुद्धको खोप अभियान सुरु गरेको थियो । माघ १४ देखि फागुन १० गतेसम्म खोपको पहिलो चरण चलाइएको थियो । सरकारले पहिलो र दोस्रो चरण गरेर खोप कार्यक्रम सञ्चालन गरेको थियो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |