वीरगन्जस्थित सीमा नाकामा स्थापना गरिएको हेल्थ डेस्कमा आइतवार एन्टिजेन प्रविधिबाट गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएका ४ मध्ये एक संक्रमित युवक फरार भएका छन् ।
शंकास्पद ५३ जनाको स्वाब लिने क्रममा स्वाब दिएका ती युवक परीक्षणको रिपोर्ट नआउँदै फरार भएका हुन् । स्वाब संकलनमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी व्यस्त रहेको मौका छापेर ती युवक फरार भएका हुन् ।
आइतवार ५३ जनाको स्वाब नमूना लिएर हेल्थ डेस्कमै एन्टिजेन परीक्षण गरिएको थियो ।परीक्षणको रिपोर्ट आधा घण्टामै आएको थियो । हेल्थ डेस्कमा खटिएका अहेब सैनुल्लाह अन्सारीका अनुसार रिपोर्ट आएपछि संक्रमण भेटिएका ४ मध्ये वीरगन्जका गुप्ता थर भएका ती युवकलाई सुरक्षाकर्मीले खोजीनीति गरे ।
तर उनी त्यहाँ फेला परेनन् । उनको मोबाइल नम्बरमा फोन गर्दा मोबाइल स्वीच अफ छ । फरार भएका संक्रमित युवकको खोजी भइरहेको नाकास्थित इनर्वा प्रहरी चौकीका प्रहरी नायव निरीक्षक पूर्ण प्रसाद दाहालले बताए ।
हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मी सैनुल्लाह अन्सारी भन्छन्, ‘जनशक्ति थोरै छौँ, हेल्थ डेस्कमा ल्याबको प्राविधिक एकजना मात्रै छन् , त्यसैले पनि परीक्षण गर्न समय लाग्छ, मानिसहरु रिपोर्ट नै नआइ भागिदिने गर्छन् ।’
चैत २३ देखि बैशाख ५ गते दिउँसोसम्म भारतबाट वीरगन्ज नाका हुँदै प्रवेश गर्न लागेका १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगन्ज नाकामा स्थापना गरिएको हेल्थ डेस्कमा आइतवार मात्रै भारतबाट नेपाल प्रवेश गर्न लागेका ५३ जनाको एन्जिजेन प्राविधीबाट परीक्षण गर्दा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आइतवार एक नेपाली र ३ भारतीय गरी ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मी सैनुल्लाह अन्सारीले जानकारी दिए ।
हेल्थ डेस्कमा चैत २३ गते देखि एन्जिटजेन प्राविधीबाट कोरोनाको परीक्षण गर्न थालिएको हो ।नाकाको हेल्थ डेस्कमा चैत २३ देखि बैशाख ५ गते दिउँसोसम्म ४ सय ४३ जनाको एन्टिजेन प्रविधीबाट परिक्षण गर्दा १४ जनामा कोराना संक्रमण भेटिएको अन्सारीले बताए ।
उनका अनुसार १४ मध्ये ४ जना नेपाली र बाँकी १० जना भारतीय हुन् ।
संक्रमण भेटिएका नेपालीलाई सम्बन्धित पालिकासँग समन्वय गरेर होम आइशोलेसनमा बस्ने गरी पठाइएको उनले बताए । भरतीय संक्रमितहरुलाई भने सीमावर्ती भारतीय प्रहरीको जिम्मा लगाएर भारततर्फ नै फर्काउने गरिएको अन्सारीले बताए ।
अन्सारीका अनुसार नाकाको हेल्थ डेस्कमा लामो समय भारतमा बसेर फर्किने नेपाली भारतको भित्री भागबाट आउने भारतीय र शंकास्पद व्याक्तिहरुको मात्रै एन्टिजेन प्रविधिबाट कोरोना जाँच गर्ने गरिएको छ । भारतबाट आउने अन्यहरुलाई भने थर्मल गनबाट तापक्रम मात्र नापेर वीरगन्ज प्रवेश गर्न दिइएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |