सेती नदीमा शनिबार दिउँसो नुहाउने क्रममा बेपत्ता भएका सायल गाउँपालिका–४ बस्ने ३१ वर्षीय सूर्यबहादुर बोगटी अझै फेला पर्न सकेका छैनन् ।
उनी बगेर बेपत्ता भएदेखि प्रहरीले खोजी जारी राखे पनि अहिलेसम्म पनि उनको अवस्था अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले बताए ।
दिपायल सिलगढी नगरपालिका–४ दिपायल पिपल्ला नजिक रहेको सेती नदीमा शनिबार नुहाउँदै गर्दा निज युवक एकाएक बेपत्ता भएका थिए ।
“कपडा नदीको किनारामा भेटिएको तर उनी अहिलेसम्म पनि भेटिएका छैनन्”, इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रुपसिंह थापाले भने, “हामीले हिजो रातिसम्म नदीमा खोज्यौँ, कतै फेला पारेनौँ, अहिले पनि खोजीमा टोली खटिएको छ, खोजी जारी छ ।”
नदीमा पानी धमिलो भएका कारण पनि खोजी कार्यमा केही कठिनाइ भएको उनको भनाइ छ । चैत महिनामा सेतीमा पौडी खेल्दा एक जनाको डुबेर मृत्यु भएको थियो भने शनिबार बोगटी बगेर बेपत्ता भएका छन् । गर्मीयाम शुरु भएकाले सेती नदीमा नुहाउन जाने क्रममा बर्सेनि यहाँका नागरिकको ज्यान जाने गरेको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |