नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
कोटेश्वरका एक व्यवसायीको घरमा दुई नेताबीच पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको हो । नेता नेपाल आज बिहान झापाबाट फर्किए लगत्तै कोटेश्वरको खरिबोट नजिक रहेको व्यावसायी चन्द्रलाल श्रेष्ठको घरमा दुई नेताबीच छलफल भएको हो ।
छलफलमा माओवादी प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि सहभागी हुनुहुन्थ्यो । कर्णालीमा नेपाल पक्षको सहयोगमा माओवादी सरकार जोगिएको भोलिपल्ट दुई नेताबीच वार्ता भएको हो ।
गण्डकीमा पनि एमालेका मुख्यमन्त्रीविरुद्ध कांग्रेस र माओवादीले अविश्वास प्रस्ताव दर्ता गराएका छन् । प्रधानमन्त्रीले आज बोलाएको सर्वदलीय बैठक बहिस्कार गरेका प्रचण्डले एमालेबाट निलम्बित नेता नेपालसँग भेट गर्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।
यसअघि पनि अध्यक्ष प्रचण्ड र नेता नेपालबीच कोटेश्वरस्थित व्यवसायी श्रेष्ठ र टपिन्द्र तिम्सिनाको घरमा पटक पटक बैठक हुँदै आएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |