दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ रत्नपार्कमा सञ्चालित गणेश फर्निचर उद्योगमा आगलागी भएको छ । उद्योगमा आज बिहान आगलागी हुँदा ५० लाख रुपैयाँभन्दा बढीको क्षति भएको जनाइएको छ ।स्थानीय हर्कराज राईले सञ्चालन गरेको फर्निचर उद्योगमा विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाले बताए ।
आगोले उद्योगमा रहेको मेसिनरी औजार, तयारी फर्निचर, काठपातलगायत सबै जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
आगलागीको खबर पाउनसाथ नेपाली सेना, जनपद तथा सशस्त्र प्रहरी, नगरपालिकाको वारुणयन्त्र र स्थानीय बासिन्दाले करिब दुई घण्टा लगाएर आगो नियन्त्रणमा लिएको सञ्चालक राईले बताए ।
जस्तापाताको छानो भएको उद्योगको एकतले भवनमा लागेको आगो समयमा नियन्त्रणमा लिइएकाले आसपासका घरहरूमा क्षति हुन पाएन ।
उद्योग सञ्चालक राईका अनुसार भण्डारण गृह र बिक्री कक्षमा राखिएका बाहेक सबै उत्पादित सामग्री जलेर नष्ट भएका छन् । जिल्लामा चैत महिनामा मात्रै दुई दर्जनभन्दा बढी घर तथा गोठमा आगलागी भएको प्रहरीले जनाएको छ ।
स्थानीय सामुदायिक वनमा लागेको डढेलो गाउँमा पसेपछि घर तथा गोठमा भएको आगलागीमा अहिलेसम्म मानवीय क्षति नभए पनि पशुचौपाया भने ठूलो मात्रामा जलेर मरेका छन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |