नेपालमा गैंडाको गणना सकिएको छ । गणना सकिएसँगै आज (शनिबार) यकिन सङ्ख्या सार्वजनिक पनि गरिँदै छ ।
पर्सा राष्ट्रिय निकुञ्जको प्रतापपुरबाट गणना सुरु भएको थियो । गणना कार्य शुक्रबारसाँझ सम्पन्न भएको जानकारी दिइएको छ । आज पत्रकार सम्मेलनको आयोजना गरेर गैंडाको सङ्ख्या सार्वजनिक गरिने चितवन राष्ट्रिय निकुञ्जका प्रमूख संरक्षण अधिकृत अणनाथ बरालले बताए ।
पर्सा र चितवन राष्ट्रिय निकुञ्जलाई एउटा ब्लक बनाएर चैत ९ गतेबाट गैंडा गणना थालिएको थियो। यसअघि गत आइतबार गणनाका क्रममा निकुञ्जको सेरिधजाह क्षेत्रमा जङ्गली ध्रुवे हात्तीले गणनाका क्रममा सात जना कर्मचारीलाई घाइते बनाएको थियो।
नेपालमा प्रत्येक पाँच/पाँच वर्षमा गैंडाको गणना हुँदै आएको छ । यसअघि सन् २०१५ मा गैंडा गणना गरिएको थियो। गणना सकिएकाले यसको अवस्था हेरेर व्यवस्थापनको काम सुरु गरिने बरालको भनाइ छ ।
सन् २०१५ मा गरिएको गणनामा नेपालमा गैंडाको सङ्ख्या कूल छ सय ४५ थियो । तथ्याङ्कअनुसार चितवनमा छ सय पाँच, बर्दियामा २९, शुक्लाफाँटामा आठ र पर्सामा तीनवटा गैंडा त्यतिबेला भेटिएका थिए।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |