२८ चैत, काठमाडौँ । एजेन्सी— चीनले ई–कमर्स क्षेत्रको शक्तिशाली कम्पनी अलिबाबामाथि एकाधिकार नियमहरु उल्लंघन गरेको आरोपमा २ अर्ब ७५ करोड अमेरिकी डलर(करिब ३ खर्ब नेपाली रुपैयाँ) जरिवाना गरेको छ ।
यो रकम चीनमा कुनै पनि कम्पनीमाथि भएको आजसम्मकै सबैभन्दा ठूलो जरिवाना हो । यसअघि सन् २०१५ मा अमेरिकी चिप निर्माता कम्पनी क्वालकमले ९७ करोड ५० लाख डलर जरिवाना तिरेको थियो । क्वालकममाथि चीनमा प्रतिस्पर्धा रोक्ने कार्यमा अवरोध पुर्याएको आरोप लागेको थियो ।
समाचार संस्था रोयटर्सका अनुसार अलिबाबाले सन् २०१९ मा गरेको आम्दानीको करिब ४ प्रतिशत जरिवानामा बुझाएको छ । चीनको बजार नियमनकारी निकाय स्टेट एडमिनेस्ट्रेसन फर मार्केट रेगुलेसन(एसएएमआर)गत डिसेम्बरमा अलिबाबामाथि अनुसन्धान सुरु गरेको थियो । एसएएमआरले अलिबाबाले चीनको ‘एन्टी-मोनोपोली’ कानुन उल्लंघन गरेको बताएको छ ।
अलिबाबाले चिनियाँ सामाजिक सञ्जाल वेइपोमार्फत एसएएमआरको निर्णय मान्ने र व्यावसायिक सुधार गर्दै लैजाने बताएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |