गाउँपालिकाको वडा कार्यालयबाट विभिन्न सामग्री चोरी गरेको आरोपमा बर्दिया प्रहरीले ८ जनालाई पक्राउ गरेको छ ।जिल्लाको बढैयाताल गाउँपालिकाको वडानम्बर १ को वडा कार्यालयबाट विभिन्न सामग्री चोरी गरेको आरोपमा प्रहरीले सोही वडामा घर भएका २३ वर्षीय याम बहादुर बिसी र २२ वर्षीय कमल खड्का सहित ८ जनालाई पक्राउ गरेको हो ।
बढैयाताल गाउँपालिका-१ को वडा कार्यालयबाट चैत १४ गते ३ थान कम्प्युटरको सीपीयूसहित अन्य सामग्रीहरु चोरी भएको घटनाको अनुसन्धानको सिलसिलामा इलाका प्रहरी कार्यालय मैनापोखर बर्दियाबाट खटिएको प्रहरीले मंगलबार उक्त चोरी भएका सामानहरु याम बहादुरको घरबाट बरामद गरेको थियो ।
उक्त घटनापश्चात फरार रहेका याम बहादुर र कमल समेत ८ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका आठै जनाविरुद्ध चोरी सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |