काठमाडौंमा बैंकको एटीएम ह्याक गरी रकम चोरी गर्ने १ जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।
काठमाडौं महानगरपालिका-२७ ठमेल ज्याठास्थित मेगा बैंकको एटीएम ह्याक गरेर पैसा निकाल्न खोजेको अवस्थामा प्रहरीले चिनियाँ नागरिकलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा चिनियाँ नागरिक वाङ सिआओलङ छन् । एउटा व्यक्तिले एटीएम मेसिनको किबोर्डबाट पीन नम्बर ह्याक गर्न लागेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी बृत्त दरबारमार्ग र प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले लाङलाई पक्राउ गरेको हो ।
उनको साथबाट १० वटा चाबीको एक झुप्पा, १० वटा एटीएम कार्ड, एप्पलको म्याकबूक, चाइनिङ पासपोर्ट लगायत सामग्री बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।
पक्राउ परेका चिनियाँ नागरिकमाथि बैंकिङ कसूरअन्तर्गत अनुसन्धान भइरहेको छ ।
नेपालमा एटीएम ह्याक गरी बैंकिङ प्रणालीबाट ठूलो रकम लुट्ने क्रममा यसअघि पनि चिनियाँ नागरिकहरु पक्राउ पर्दै आएका छन् ।
२०७६ को भदौमा मात्रै नेपाल प्रहरीले काठमाडौंको दरबारमार्ग क्षेत्रमा एटीएम ह्याक गरी रकम लुटपाट गर्ने ५ जना चिनियाँ नागरिकहरुलाई पक्राउ गरेको थियो ।
उनीहरुले एकै दिन एटीएम ह्याक गरी करिब डेढ करोड बढी रकम निकालेका थिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |