१८ चैत, काठमाडौं। महोत्तरी — मंगलबार दिउँसोदेखि बेपत्ता भएका महोत्तरी, भंगाहाका ७ किशोरी तथा बालिकाहरु भारत, विहारको सीतामढीमा भेटिएका छन । उनीहरू सीतामढी पुगेको भनी त्यहाँको प्रहरीले नेपाल प्रहरीलाई खबर गरिसकेको भंगाहा नगरपालिकाका मेयर सञ्जीवकुमार साहले जानकारी दिए । उनले प्रहरीलाई उद्धृत गर्दै जनाएअनुसार सबै किशोरी सकुशल छन् ।
मंगलबार दिउँसो २ बजे घाँस काट्न भनी गएका किशोरीहरू नफर्किएका हुन् । बेपत्ता हुनेमा भंगाहा नगरपालिका–८ धर्मपुरका १८ वर्षका अस्मिता पासवान र नागिना पासवान, १३ वर्षीया ज्योति पासवान, १५ वर्षका अर्चना पासवान र रिया पासवान, १० वर्षका रञ्जना पासवान र सीमा पासवान छन् ।
मेयर साहका अनुसार स्थानीयले किशोरीहरूलाई मंगलबार दिउँसो नजिकै अजगेवा गाउँको खेतमा घाँस काटिरहेको देखेकोमा त्यसपछि उनीहरू बेपत्ता भएका थिए । उनीहरू बिहार पुगेको खबर आएसँगै नेपाल प्रहरीको टोली त्यसतर्फ जान लागेको साहले जानकारी दिए ।
‘पारिपट्टिबाट भारतीय प्रहरीले समातेर राखेको छ, यताबाट प्रहरी गएपछि केहीबेरमा उनीहरूलाई हस्तान्तरण गरिनेछ । त्यसपछि उनीहरूलाई घर–परिवारको जिम्मा लगाइन्छ,’ उनले भने ।
सम्बन्धित परिवारलाई भने उनीहरू कहाँ गए भन्ने जानकारी नै नभएको बेपत्तामध्ये एक किशोरीका काका मनोज पासवानले बताए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |