१६ चैत, काठमाडौं। उत्तरी छिमेकी चीनले अनुदानमा दिएको ८ लाख डोज कोरोनाभाइरसविरूद्धको भ्याक्सिन सोमबार आइपुग्ने भएको छ। भ्याक्सिन ल्याउन नेपाल वायुसेवा निगमको वाइडबडी ३३० जहाज आइतबार साँझ चीनको राजधानी बेइजिङ पुगेको छ।
सरकारको निर्णयअनुसार कोभिड-१९ को भ्याक्सिनलगायतका अत्यावश्यक स्वास्थ्य सामग्री लिन निगमको जहाज चीन गएको हो। उक्त जहाजले सोमबार बेइजिङको स्थानीय समयानुसार अपराह्न ४ः३० बजे काठमाडौँका लागि प्रस्थान गर्नेछ। सोही दिन राति ८ः३५ बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा जहाज अवतरण गर्नेछ।
यही चैत १ गतेको मन्त्रिपरिषद्को बैठकले मित्रराष्ट्र चीनबाट प्रदान गरिने कोभिड–१९ विरुद्धको खोप ‘भेरासेल’ लगायत सहायता सामग्री स्वीकार गर्ने निर्णय गरेको थियो।सरकारी निर्णयबमोजिम चीन सरकारले उपलब्ध गराउने वस्तुगत अनुदान स्वीकार गर्ने निर्णय भएअनुरुप आठ लाख मात्रा कोभिडविरुद्धको खोपलगायत सहायता सामग्री लिन निगमको जहाज बेइजिङ गएको निगमकी प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिइन्। उनका अनुसार बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलबाट ढुवानी गर्न कलसाइन आरए ४२५१ द्वारा आइतबार काठमाडौं-बेइजिङ उडान गर्ने निगमको तयारीबमोजिम संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग समन्वय गरिएको छ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |