उच्च वायु प्रदूषणका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान आज (शनिबार) बिहानैबाट अवरुद्ध बनेको छ ।
भिजिबिलिटी कम हुँदा आन्तरिक तथा बाह्य उडान एवम् अवतरण ठप्प बनेको हो । विमानको उडान–अवतरणका लागि कम्तीमा एक हजार छ सय मिटर भिजिबिलिटी आवश्यक पर्छ । तर बिहानैदेखि प्रदूषणपछिको तुवालोले आकाश ढाक्दा भिजिबिलिटी एक हजार मिटर मात्रै छ ।
विमानस्थलले उच्च वायु प्रदूषणपछिको तुवालोका कारण उडान प्रभावित भएको जानकारी दिएको छ । सामान्य अवस्थामा बिहान ६ बजेदेखि नै उडान तथा अवरण सुरु हुन्थ्यो । तुवालो हटेर प्रदूषण कम भएपछि मात्रै उडान र अवतरण सुरु हुने विमानस्थलले जनाएको छ । तर विमानस्थलका कर्मचारीले कति बेलाबाट उडान सुरु गर्न सकिन्छ भनेर भिजिबिलिटीको निगरानी नियमित गरिरहेका छन् ।
आवश्यक भिजिबिलिटी उपलब्ध हुन नसक्दा मेलसियाको क्वालालम्बपुरबाट आएको हिमायलन एअरलायन्सको जहाज भारतको बनारस डाइभर्ट भएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए। यस्तै मलेसियाबाट आएको नेपाल एअरलायन्स र दुबईबाट आएको हिलमालयन एअरलायन्सको विमान अहिले आकाशमा होल्ड रहेको उनको भनाइ छ ।
उनका अनुसार वायु प्रदूषणले असर गर्दा शुक्रबार आन्तरिकतर्फ कूल २२ वटा उडान रद्द भएको थियो। यस्तै हङकङबाट आएको कासा एअरको विमान शुक्रबार बेलुका दिल्ली डाइभर्ट भएर पुनः हङकङ नै फर्किएको थियो। यस्तै फ्लाइ दुबईको जहाज शुक्रबार राति लखनऊ डाइभर्ट भएको केसीले बताए।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |