भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको विरोधमा बङ्गलादेशमा भएको हिंसात्मक प्रदर्शनमा कम्तीमा चार जनाले ज्यान गुमाएका छन् ।
मोदी दुई दिने भ्रमणका लागि शुक्रबार बङ्गलादेश पुगेका थिए । त्यसको बङ्गलादेशमा तीव्र विरोध भइरहेको छ । विरोध प्रदर्शनमा परेर सर्वसाधारणको ज्यानै गएको छ । मोदीको भ्रमणको विरोधमा प्रदर्शन सुरु भएपछि प्रहरीले गोली चलाउँदा कम्तिमा चार जनाको मृत्यु भएको हो।
झडपमा परेर पत्रकारसहित कयौँ प्रदर्शनकारी घाइते भएका छन्। मोदीको भ्रमणको विरोधमा स्थानीय हात्जारी मदरसाबाट जुलुस निस्किएको थियो। जुलुस हिंसात्मक बन्दै गएपछि प्रहरीले हस्तक्षेप गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
भारतीय प्रधानमन्त्री मोदी बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाको निमन्त्रणालाई स्वीकार गर्दै दुई दिने भ्रमणका लागि शुक्रबार ढाका पुगेका हुन् । मोदी बङ्गलादेशको ५०औँ स्वतन्त्रता दिवसको अवसरमा आयोजित विषेश समारोहमा सहभागी हुने कार्यक्रम तय भएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |