उच्च अदालत विराटनगरले बलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई झिकाउन आदेश दिएको छ ।
उच्च अदालत विराटनगरका न्यायाधीशहरु प्रेमराज ढकाल र रेणुका शाहको संयुक्त इजलासले शुक्रबार १५ दिनभित्र सिद्धाबाबालाई झिकाउन आदेश दिएको हो ।
आफ्नै महिला अनुयायीमाथि बलात्कार आरोप लागेका सिद्धबाबालाई जिल्ला अदालत सुनसरीले भने सफाइ दिएको थियो ।
जिल्ला अदालतको फैसलामा चित्त नबुझेपछि उच्च सरकारी वकिलको कार्यालय विराटनगरले उच्च अदालत विराटनगरमा पुनरावलोकन निवेदन दर्ता गराएको थियो ।
जिल्ला अदालत सुनसरीले ‘अनुयायी महिलाले मोहित भएर शरीर समर्पित गरेको, सहमतिमै सम्बन्ध कायम गरेका कारण बलात्कार भन्न नमिल्ने’ भन्दै सिद्धबाबालाई निर्दोष ठहर गरेको थियो ।