नेकपा एमालेको माधवकुमार नेपाल र झलनाथा खनाल समूहका सांसदहरू बालुवाटारमा बोलाइएको संसदीय दलको बैठकमा सहभागी हुने भएका छन् ।
शुक्रबार पार्टी संसदी दलका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाउनुभएको संसदीय दलको बैठकमा माधव–खनाल समूह पनि सहभागी हुने भएको जनाइएको छ ।
नेपाल–खनाल समूहका एक जना सांसदका अनुसार बैठकमा सबै जाने तयारी भइरहेको छ । ती सांसदका अनुसार खनाल–नेपाल जाने नजाने भन्ने विषयमा यकिन जानकारी आइसकेको छैन ।
साथै, नेपाल पक्षका स्थायी समिति सदस्यसमेत रहेका निवर्तमानमन्त्री एवं सांसद योगेश भट्टराई जाने पक्का भइसकेको उनले बताए ।
यसअघि ओली समूहले बोलाएको बालुवाटारको बैठकमा नेपाल पक्षका सांसदहरु उपस्थित भएका थिएनन् । बैठकमा अनुपस्थित र पार्टीविपरीत काम गरेको भन्दै ओली समूहले तीन दिने स्पष्टीकरण सोधेको थियो ।
पार्टी अनुशासन उल्लंघन गरेको भन्दै नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले चार नेताहरुलाई स्पष्टीकरण सोधेको थियो । वरिष्ठ नेता माधव कुमार नेपाल र नेता भीम रावलले बिहीबार नै स्पष्टीकरणको जवाफ दिए पनि सांसद घनश्याम भुसाल र सुरेन्द्र पाण्डेले अझैँ स्पष्टीकरण दिएका छैनन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |