घरभेटीकी छोरीलाई लागू औषध (ड्रग्स) खुवाएर बलात्कार गरेको आरोपमा बाँके प्रहरीले १ जना युवालाई पक्राउ गरेको छ ।
बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-२० राँझा घर भएकी १९ वर्षीया किशोरी (घरभेटीकी छोरी)लाई बलात्कार गरेको आरोपमा प्रहरीले २४ वर्षीय युवकलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा हुम्लाको सर्केगाड गाउँपालिका-१ घर भइ १० वर्षदेखि नेपालगञ्ज बस्दै आएका २४ वर्षीय मिमबहादुर बुढा छन् ।
मिमबहादुरले आफू डेरामा बस्दै आएको घरका घरधनीकी छोरीलाई घुम्न जानेभन्दै घरबाट लगेका थिए ।
उनी त्यहाँबाट युवतीसँगै बाँकेको बैजनाथ गाउँपालिका-१ गाभर भ्यालीको होमस्टे पुगेका थिए ।
होमस्टेमा लगेर पेय पदार्थ (जुस)मा लागू औषध नाइट्राजेपाम मिसाएर किशोरीलाई खुवाएर बेहोस बनाइ बलात्कार गरेको खुलेको प्रहरीले जानकारी दिएको छ ।
ती युवतीलाई गत मंसिर ६ गते अचेत अवस्थामा नै घरमा लगेर छाडेपछि उनी बेपत्ता भएका थिए ।
भेरी अस्पताल नेपालगञ्जमा उपचार पछि युवती होसमा आएकी थिइन् । पीडित किशोरीले मिमबहादुरले आफूमाथि बलात्कार गरेको भन्दै आमालाई खबर गरेपछि प्रहरीमा उजुरी परेको थियो ।
पीडित किशोरीको परिवारले दिएको उजुरीका आधारमा प्रहरीले मिमबहादुरको खोजी गरेको थियो ।
खोजीका क्रममा मिमबहादुरलाई चैत ८ गते काठमाडौंको हाँडीगाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |