२३ फागुन, काठमाडौं । विश्वभर फ्रेन्चाइज्ड क्रिकेट टुर्नामेन्ट खेलेर ग्लोबल स्टारको छवि बनाइसकेका नेपालका युवा लेगस्पीनर सन्दीप लामिछानेले २७ महिनापछि घरेलु क्रिकेटमा पुनरागमन गर्दैछन् ।
नेपाल क्रिकेट संघ क्यानले काठमाडौं महानगरपालिकाको सहयोगमा शनिबारदेखि सुरु भएको काठमाडौं मेयर्स कप २०७७ मा सन्दीपले काठमाडौं मेयर्सक ११ टिमको कप्तानी गर्दैछन् । मेयर्स ११ ले मुलपानी क्रिकेट मैदानमा आइतबार बागमति प्रदेशविरुद्ध खेल्दैछ ।
सन्दीपको आगमनपछि थप बलियो बनेको काठमाडौं मेयर्स ११ टिम प्रतियोगितामा विजयी सुरुआत गर्न चाहन्छ । बागमति पहिलो खेलमा नेपाल पुलिससँग २ रनले पराजित भएको थियो । बागमती पनि पहिलो जितको खोजीमा छ ।
यस्तै पहिलो दिन जित हात पारेका नेपाल पुलिस क्लब र एपीएफ क्लबबीच टीयू मैदानमा प्रतिस्पर्धा हुनेछ । दुवै टोली लगातार जितसहित फाइनल पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ ।
५ टिम सहभागी प्रतियोगितामा राउण्ड रोविन लिगका खेलपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |