फागुन ६गते
चितवन — खैरहनीको कंकाली मावि अगाडि सरस्वती पूजाका दिन मंगलबार दिउँसो मात्रै नभई साँझसम्म पनि भव्य चहलपहल थियो । कलाकार महा नायक राजेश हमाल पनि उपस्थित थिए । मिलन लामा, टीका सानु र मनोज महतोको गीत र नाचले ठूलै उत्सवको छनक दिन्थ्यो । कंकाली स्कुलका पूर्वविद्यार्थीले आफ्ना गुरुलाई ‘दक्षिणा’ टक्य्राउन यस्तो माहोल बनाएका थिए ।
आफूलाई पढाउने पशुपतिलाल कर्णलाई विद्यार्थीले सानोतिनो उपहार होइन घर नै बनाएर गुरुदक्षिणा दिए । ‘२०७६ सालको गुरुपूर्णिमामा घरको जग खन्न सुरु गरेका थियौं । २०७७ सालको सरस्वती पूजाका दिन गुरुलाई घर नै हस्तान्तरण गर्यौं,’ पूर्वविद्यार्थी कारी महतोले भने ।
घर बनाउँछु त भनेको थिएँ । तर खै यस्तै दुःख संकटहरू आए । तर विद्यार्थीले मेरो मनोभावना बुझेछन् भन्नुपर्यो । उनीहरू मेरो दुःख देखेरै हुर्केका हुन्,’ कर्ण भन्छन्, ‘घर त मैले पनि जेनतेन बनाउन सक्थें तर विद्यार्थीले गुरुदक्षिणाका रूपमा अर्पण गरे ।’ अब आफ्नो अन्तिम इच्छा त्यही घरमा जीवन बिताउने र मृत्युपछि विद्यार्थीमाझ देवघाटमा अन्तिम संस्कार होस् भन्ने रहेको उनले सुनाए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |