प्रधानमन्त्री तथा विभाजित नेकपाका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको अवधिमा दलभित्रको विवादमा निर्वाचन आयोग प्रवेश गर्न नमिल्ने भन्दै पार्टीको आधिकारिक अध्यक्ष आफै भएको प्रमाण आयोगसँगै रहेको बताएका छन् ।
वैशाखमा निर्धारित निर्वाचनको बारेमा छलफल गर्न मंगलबार आयोग पुगेका ओलीले निर्वाचन प्रयोजनका लागि दल दर्ताको कुरा निस्किएपछि पुस ५ अघि नेकपामा कुनै विवाद ननिस्किएकाले अब १२० दिनभित्र पार्टीभित्रका विवादमा आयोग पस्न नमिल्ने बताएका हुन् ।
ओलीको भनाइ उधृत गदै आयोग स्रोतले भन्यो– उपनिर्वाचन र राष्ट्रियसभाको निर्वाचनमा मैले एकल हस्ताक्षरमा उम्मेदवार सिफारिस गरेको थिएँ । म पार्टीको पहिलो अध्यक्ष हुँ । किन मेरो एकल हस्ताक्षर मान्य नहुने ? अहिले केही मान्छे बाहिरिएका छन् पार्टीबाट । बालुवाटारमा पुस ५ गते कुनै नेकपाको कुनै बैठक बसेको छैन, अध्यक्ष र महासचिवलाई जानकारी नभई बैठक कसरी बस्यो ? त्यसैले निर्वाचनको अवधिमा दलभित्रको विवादमा आयोग प्रवेश गर्न मिल्दैन ।
प्रधानमन्त्री तथा अध्यक्ष ओलीले २०७५ जेठ ३ गते नेकपा एकीकरण भएको र जेठ २३ गते निर्वाचन आयोगले सूचना जारी गरेको स्मरण गराउँदै आफू नेकपा संसदीय दलको नेताका हैसियतले प्रधानमन्त्री भएको बताए । उनले पुस ५ गते प्रतिनिधिसभा विघटन हुँदासम्म आफ्नो सो हैसियत कायमै रहेको बताएका थिए ।
ओलीले भनाइ थियो– मैले ६४ प्रतिशत मतको प्रतिनिधित्व गरेर प्रतिनिधिसभा विघटनको सिफरिश गरेको हुँ । त्यसपछि कसैले पार्टी छाडेको होला । निर्वाचनको अवधिमा दलभित्रको विवादमा आयोग प्रवेश गर्न मिल्दैन । ५ गते मैले सिफारिश गर्नुअघि त यस्ता कुनै कुरा थिएनन्, यो १२० दिनभित्र विवाद गर्न पाइँदैन ।
पार्टीमा आफ्नो बाहेक अरुको एकल हस्ताक्षर नचलेको भन्दै कहिलेकाहीँ आफूसँगै पुष्पकमल दाहालको पनि हस्ताक्षर चलेको आयोगका पदाधिकारीलाई बताए । ओलीले आफूले केन्द्रीय कमिटी बैठक बिस्तार पहिले नै गरेको र पछि अनुमोदनमा गरिएको जानकारी आयोगलाई दिएका छन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |