गृहमन्त्री रामवहादुर थापा बादलले विभाजित पार्टी छाडेर हिडनुभएका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अवसरवादी र प्रतिगामी नेताको संज्ञा दिनुभएको छ । गृहजिल्ला चितवनमा आज नेकपाले आयोजना गरेको कार्यक्रममा बोल्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्यसमेत रहनुभएका गृहमन्त्री थापाले यस्तो संज्ञा दिनुभएको हो ।
उहाँले प्रचण्ड पार्टीमा फर्केर आए अझै पनि प्रधानमन्त्री बन्ने सम्भावना रहेको बताउनु भयो । प्रचण्ड र आफ्नोसमेत गृहजिल्ला चितवनको भरतपुरमा आयोजित जनसभालाई सम्बोधन गर्दै गृहमन्त्री वादलले गल्ति स्वीकार गरेर पार्टीमा फर्किए अझै पनि ताजा जनादेशपछि प्रचण्ड प्रधानमन्त्री बन्न सक्ने बताउनु भयो ।
‘म यो जिल्लाका अवसरवादीलाई आह्वान गर्न चाहान्छु, आउनुस प्रधानमन्त्री हुने अवसर यही निर्वाचनले दिन्छ । आउनुस यो विशाल जनताले तपाईलाई त्यो मौका दिनसक्छ ।
यो सभाले हाम्रो जित घोषित गरिसक्यो, तपाई पनि पार्टीमा फर्किनुस । तपाईहरुलाई मतपत्र च्यात्न आवश्यक छैन । जनताले गल्तीमा माफ दिनेछन,’ गृहमन्त्री थापाले भन्नुभयो ।
प्रचण्डप्रति निकै आक्रामक रुपमा प्रस्तुत हुनभएका बादलले सर्बोच्च अदालतले विघटन सदर गरेर प्रतिनिधिसभाको बैठक बोलाएर प्रधानमन्त्रीलाई बर्खास्त गर्ने प्रचण्डको चेतावनीलाई प्रगितामी हुँकारको संज्ञा दिनुभयो ।
‘ती प्रतिगामी हुँकारको कुनै अर्थ छैन, त्यो षड्यन्त्र असफल पार्न नै संसद विघटन गरिएको हो,’ बादलले भन्नुभयो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |