केपी शर्मा ओली नेतृत्वको सरकारमा हाल खानेपानी मन्त्री रहेका मणि थापाले ओली नेतृत्वको सरकारलाई श्री ५ को सरकार भन्दै गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ।
ओली समूहले सुर्खेतमा आयोजना गरेको कार्यक्रममा नेता थापाले ‘नेपाल सरकारको तर्फबाट’ भन्नुपर्नेमा ‘श्री ५ को सरकार’ भनेका हुन।
चिप्लिएर ‘श्री ५ को सरकार’ भनेपछि नजिकै रहेका अर्का व्यक्तिले उनलाई नेपाल सरकार भएको सम्झाएका छन्। त्यसपछि उनले नेपाल सरकार भनेका छन्।
प्रतिनिधिसभा विघटनपछि नेकपामा विभाजन आउँदा नेता थापा ओली समूहमा लागेका थिए। ओली समूहमा लागेको भोलिपल्ट उनलाई प्रधानमन्त्री ओलीले मन्त्री नियुक्त गरेका थिए। थापा पूर्व माओवादी नेता हुन।
प्रचण्ड-माधव समूहले रोजेको बाटोप्रति उनी असन्तुष्ट हुँदै अोली समूहमा लागेका हुन।
२०६३ जेठ ४ गते अघिसम्म नेपाल ‘अधिराज्य’ अर्थात् राजाद्बारा शासित राष्ट्र थियो।
त्यसैले राजतन्त्रकालिन सरकारलाई पनि ‘श्री ५ को सरकार’ भन्ने गरिन्थ्यो। २०१५ साल वैशाखदेखि भन्न थालिएको श्री ५ को सरकारलाई २०६३ जेठ ४ गतेको प्रतिनिधि सभाको घोषणाबाट अन्त्य गरिएको थियो।
सो घोषणा–पत्रको दफा २.१ मा “नेपाल राज्यको सम्पूर्ण कार्यकारिणी अधिकार मन्त्रिपरिषद्मा निहित रहने उल्लेख छ। “श्री ५ को सरकार” लाई अब उप्रान्त “नेपाल सरकार” भनिनेछ” भनेर घोषणा गरिएको थियो। त्यसपछि वैधानिकरूपमा नै ‘श्री ५ को सरकार’को अन्त्य भइ ‘नेपाल सरकार’ लेख्ने/भन्ने गरिएको हो।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |