प्रधानमन्त्री केपी ओलीले मानिसका चहर्याइरहेका घाउमा मलम लगाउनु नै सबैभन्दा महत्वपूर्ण धर्म र मानवीय कार्य भएको बताएका छन् । मानवसेवा आश्रमले सञ्चालन गरेको मेची-महाकाली सडक उद्धार अभियानको आज समापन समारोहलाई काठमाडौँमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मन्दिरमा पुजाआजा गर्नुभन्दा सडकमा मागेर समेत खान नसक्ने व्यक्तिको दर्द बुझेर सहयोग गर्न सबैलाई अनुरोध गरे ।
उक्त कार्यक्रमको बालुवाटारमा प्रधानमन्त्री ओलीले नै शुभारम्भ गरेका थिए । ‘समृद्ध नेपाल र सुखी नेपाली’ बनाउने सरकारको राष्ट्रिय लक्ष्य पूरा गर्न आश्रमको अभियान महत्वपूर्ण रहेको प्रधानमन्त्री ओलीको भनाइ थियो । उनले दुःखका सबै कारण समाप्त पार्नुपर्छ भनेर शुरु गरिएको सरकारी अभियानमा बेसराको उद्धार र संरक्षण कार्यलाई एउटा महायज्ञको सङ्ज्ञा दिए । उनले महायज्ञको मण्डव भत्काउने तत्व पनि फेला पर्न सक्नेतर्फ सतर्क गराए । प्रधानमन्त्री ओलीले समृद्ध नेपाल बनाउने महाअभियानमा अबरोध पुर्याउने तत्व देखिएको भन्दै त्यसप्रति चिन्ता प्रकट गरे ।प्रधानमन्त्री ओलीले मुलुकमा उपदेश दिन धेरै भगवानका दुत भेटिने गरेको तर मानवसेवा आश्रमका युवाले जस्तो कसैले नगरेकाले उनीहरु साँच्चैका भगवान्को दूत बनेर आएको प्रतिक्रिया दिए । प्रधानमन्त्रीले भने, “उहाँहरु साँच्चै नै देवताले पठाएका मान्छे जस्तो लाग्छ, पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म पुगेर खोजीखोजी बेसहारालाई उद्धार गरी संरक्षण गर्नु सामान्य कुरा होइन, उहाँहरु भगवानका दुत नै हुनुहुन्छ ।” गत पुस ७ गतेदेखि शुरु भएको मेचीमहाकाली सडक उद्धारका क्रममा आश्रमले ७०० भन्दा बढी व्यक्तिलाई सडकबाट उद्धार गरेको छ ।