अब कक्षा ११ र १२ मा पनि गणित विषयलाई अनिवार्य विषय बनाइने भएकाे छ । ११ र १२ कक्षाको विद्यार्थीले तेस्रो अनिवार्य विषयमा गणित अध्ययन गर्न पाउने भएका हुन्।
शिक्षामन्त्रीको नेतृत्वमा रहेको पाठ्यक्रम तथा मूल्यांकन परिषद्को बिहीबार भएको बैठकले तेस्रो अनिवार्य विषयमा गणित लिन सक्ने व्यवस्था गरेको हो। पहिलो अनिवार्य विषयको रुपमा नेपाली, दोस्रो अंग्रेजी रहेको छ।
नेपाल गणित संघका सहसचिव डा जीवन काफ्लेले भने, ‘तेस्रो अनिवार्य विषयको रुपमा गणित पनि राख्ने परिषदले निर्णय गरेको छ। गणित विषयलाई ओझेलमा पार्न गरिएको प्रयास असफल भएको छ।’
११ तथा १२ का विद्यालयले तेस्रो अनिवार्य विषयको रुपमा गणित वा सामाजिक तथा जीवन उपयोगी मध्ये एउटा अध्ययन गर्नुपर्नेछ। यसअघि तेस्रो अनिवार्य विषयको रुपमा सामाजिक तथा जीवन उपयोगी विषय मात्रै रहेको थियो। नयाँ पाठ्यक्रम बनाउने क्रममा चौथो ऐच्छिक विषयको रुपमा गणितलाई राखिएको थियो।
‘तेस्रो अनिवार्य विषयको रुपमा रहेको विद्यार्थीले पनि ऐच्छिक विषयमा गणित पढ्न भने पाउने छन्’, डा काफ्लेले भने।
गणितलाई नयाँ पाठ्यक्रमबाट हटाएपछि समाजले आन्दोलन गर्दै आएको थियो। गणित शिक्षालाई ओझेलमा पारेको भन्दै अदालतमा मुद्दा समेत परेको थियो। अदालतले सो विषयलाई समावेश गराउने फैसला गरेको थियो।