नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहको केन्द्रीय संघर्ष समितिको बैठक बसेको छ ।
बिहीबार बिहान केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले हालसम्म भएका आन्दोलनको समीक्षा र थप आन्दोलन चर्काउने निर्णय गरेको छ ।
केन्द्रीय सदस्य बिष्णु रिजालका अनुसार अध्यक्षद्वय प्रचण्ड र नेपालको उपस्थितिमा बसेको बैठकले अहिलेसम्मका आन्दोलन कार्यक्रमको समीक्षा र घोषित कार्यक्रम प्रभावकारी बनाउनेबारे छलफल गरेको हो ।
पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघट गरेपछि प्रचण्ड–नेपाल समूह सडक संघर्षमा उत्रिएको छ । यो समूहले दोस्रो चरणका आन्दोलन सकेर तेस्रो चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।