सत्तारुढ नेकपका वरिष्ठ नेता (प्रचण्ड–नेपाल समूहका अध्यक्ष) माधवकुमार नेपाल अहिले आफ्नै कार्यप्रति पछुताउन थालेका छन् ।
लामो समय चलेको आन्तरिक विवादपछि यही पुस ५ गते प्रतिनिधि सभा विघटन भएसँगै सत्तारुढ नेकपा ओली र प्रचण्ड–नेपाल समूहमा विभाजन भएको छ । यद्यपि विभाजनले कानुनी हैसियत भने पाइसकेको छैन ।
प्रतिनिधि सभा विघटनपछि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–नेपाल समूहका नेतामाथि खरो टिप्पणी गरिरहेका छन् । जसको प्रचण्ड–नेपाल समूहले प्रतिरक्षा गर्दै ओली समूहको विरोध गरिरहेको छ ।
आरोपप्रत्यारोप चलिरहँदा माधवकुमारलाई ओलीलाई प्रधानमन्त्री बनाएकोमा पछुतो भएको देखिन्छ । काठमाडौंमा मंगलबार जनता समाजवादी पार्टीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले भने, ‘हामीले नै बोकेर ल्याएको नेता, मैले नै प्रस्तावित गरेको प्रधानमन्त्री अब घाँडो हुन पुगेको थियो ।’
आफैंले प्रस्ताव गरेको प्रधानमन्त्री ओलीको मुखबाट देशभित्र र बाहिर के प्रभाव पर्छ भन्नेसमेत नसोची बोल्ने गर्दा आफूहरूको शीर झुक्ने गरेको जानकारी दिँदै उनले आफूहरुले ओलीमाथि अनुशासनको कारबाही गरेको बताए ।
आफ्नो समूह नै नेकपा भएको जिकीर गरेका नेता नेपालले ओली गणतन्त्र विरोधी रहेकोसमेत आरोप लगाए । ओलीको अधिनायकवादी प्रवृत्तिप्रति आफूहरुको संघर्ष जारी रहेको जानकारी दिएका उनले बुहमत प्राप्त प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नभएको दाबी गरे ।