राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीले वैशाखमा चुनाव नहुने बताएका छन्।
राष्ट्रिय सभाको बिहीबारको बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य बिडारीले प्रधानमन्त्रीविरूद्ध अविश्वास प्रस्ताव ल्याउन पाउने संसदको अधिकार भएकोले त्यससँग डराएर संसद विघटन गर्न नहुने बताए।
पार्टीले काम गर्न नदिए अध्यक्ष असफल भएको हुने र अविश्वास प्रस्ताव आउन लागे प्रधानमन्त्री असफल हुने भन्दै उनले सरकारलाई पार्टीले सहयोग गरेको भए पनि पार्टीको विवादमा प्रधामन्त्रीले संसद र व्यवस्थामाथि प्रहार गरेको बताए।
वैशाखमा चुनाव नहुने भन्दै उनले प्रधानमन्त्रीले झूटो बोलेको साबित भएको बताए।
उनले भने, ‘पार्टीले काम गर्न दिएन भने पार्टीको अध्यक्ष असफल रहेछन् भन्ने जान्नुपर्यो। संसदले अविश्वास प्रस्ताव ल्याउने भयो भने प्रधानमन्त्री असफल भयो त! अविश्वास ल्याउने त संसदको अधिकार हो। ३ वर्ष बजेट पारित गरिदियो। कार्यनीति पारित गरिदियो। विधेयक पारित गरिदियो। विवाद पार्टीमा भयो। प्रहार संसदलाई गर्ने? जनता र व्यवस्थाको विरूद्ध प्रहार गर्ने ? संविधानलाई शक्तिहीन बनाउन खोज्ने ? ताजा जनादेश प्रधानमन्त्रीको हुकुमबाट हुने कि संविधानबाट हुने ? ५ वर्षमा हुने चुनावलाई अढाइ वर्षमा झार्ने हुकुमी शासन कहाँबाट प्राप्त भयो ? संवैधानिक सर्वोच्चताको सिद्धान्त हामीले अंगालेका छौं। यो देशको ठूलो संविधान हो। संवैधानिक सर्वोच्चता ठूलो हो। वैशाखमा चुनाव हुन्न। प्रधानमन्त्रीले फटाहा बोलेको हो भन्ने साबित हुन्छ।’
सांसद बिडारीले संविधान निर्माण गर्दाताका देश विदेशका विज्ञहरूसँग परामर्श गरी प्रतिनिधि सभा प्रधानमन्त्रीको सनकको भरमा भंग गर्न नसकिने बनाइएको बताए।सरकारको अलोकप्रियता बढ्दै गएकाले यो व्यवस्था, बहुदलीय प्रतिस्पर्धा हुने प्रणाली र आफ्नै पार्टीका विरूद्धमा संसद विघटनको घोषणा गरिएको उनको भनाइ छ।
राष्ट्रियता, संघीयता, एकता, तथा गणतन्त्रको प्रतीक राष्ट्रपतिलाई समेत संसारका अगाडि लज्जित बनाउने दुष्कार्य गरिएको उनले बताए।
संसद विघटनले राज्यको सबै संवैधानिक आयोगका पदाधिकारीलाई पनि विवादास्पद बनाउने काम भएको उनको भनाइ छ।