आईसीयू र भेन्टिलेटरको अभावमा कोरोना संक्रमितले समयमै उपचार नपाएको समाचार केही महिनाअघिसम्म आइरहन्थे । कोरोना संक्रमणको दरमा कमी आएसँगै सातवटानै प्रदेशमा रहेको अस्पतालहरुमा आईसीयू तथा भेन्टिलेटर कक्षहरुमा चाप कम हुन थालेकाे छ ।
२०७७ साउनमा मात्रै सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिकाका सुजित बस्नेत साउनमा गाउँको भाइलाई कोभिड भएपछि बेड नपाएर पावर लगाउने अवस्था आएको सम्झनुहुन्छ । ‘मैले यति छिट्टै कोरोना यो अवस्थामा आउला भनेर सोचेको पनि थिइनँ’ बस्नेतले भन्नुभयो ।
कुनै समय नेपालभरका ‘आईसीयू र भेन्टिलेटर’ पाउँदा कोरोना संक्रमितले युद्ध जितेको महसुस गर्नुपर्दथ्र्यो । अत्याधिक चाप बढेसँगै नेपालका सरकारी तथा निजी अस्पतालमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिडका बिरामीका लागि जनरल, आईसीयू तथा भेन्टिलेटर बेड अनिवार्य रुपमा खालि गराउन निर्देशन दिनुपरेको थियो ।
जाडो महिनामा कोभिडका बिरामी बढ्न सक्ने भन्दै सरकारी संयन्त्रबाट निजी तथा सरकारी अस्पतालहरुमा आइसोलेशन बेड, होम तथा होटल क्वारेन्टाइन, जनरल बेड, आईसीयू र भेन्टिलेटर तयारी अवस्थामा राखेको थियो । सरकारले सोचेको भन्दा संक्रमणको दरमा कमी आएसँगै सरकारले कोभिड अस्पतालको रुपमा सञ्चालन गरेका निजी अस्पतालबाट सेवा हटाएर सरकारी अस्पतालमा मात्रै सेवा सीमित गरेको छ ।
सरकारले कोभिडका लागि मात्रै भनेर ७९ वटा अस्पताललाई तोकेको थियो । जसमा सरकारी अस्पताल ५२ वटा र निजी अस्पताल २७ वटा रहेकोमा अब ५२ वटा सरकारी अस्पतालबाट मात्रै कोभिडको उपचार हुने यसअघि नै सरकारले निर्णय गरेको छ ।
अहिले देशभरि एक हजार १४९ वटा आईसीयू रहेकोमा १९७ जना कोराना संक्रमितकाे आईसीयूमा उपचार भैरहेको छ । पुस १९ गते साँझसम्ममा देशभरमा ९५२ वटा आईसीयू बेड खाली रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारी बताउनुहुन्छ ।
संक्रमणको दर घटेसँगै आइसोलेशन, क्वारेन्टाइनमा बस्नेहरुको संख्या कमी आए पनि कोरोनाको जोखिम भने नघटेकाले सावधानी अपनाउन भने अझै आवश्यक रहेको अधिकारीले भन्नुभयो ।
आईसीयू मात्रै नभएर देशभरमा रहेका भेन्टिलेटरमा समेत संक्रमितको चाप कम भएको छ । नेपालभरमा ४७३ भेन्टिलेटर रहेकोमा अहिले ३५ वटामात्रै भेन्टिलेटरमा कोभिडका बिरामीको उपचार भैरहेको छ । ४३८ वटा भेन्टिलेटर अझै खाली रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आईसीयू तथा भेन्टिलेटरमात्रै नभएर क्वारेन्टाइन, आइसोलेशन बस्नेहरुको संख्यामा कमी आएको छ । कुनै समय संक्रमितले भरिभराउ हुने आइसोलेशन खाली छन् । विदेशवाट र कोरोनाको जोखिम भएको क्षेत्रबाट आउनेहरुको संख्यामा कमी भएसँगै क्वारेन्टाइनमा बस्नेहरुको संख्यामा समेत कमी आएको सह–प्रवक्ता अधिकारी बताउनुहुन्छ ।
पाँच हजार २५१ वटा क्वारेन्टाइन बेड रहेको प्रदेश नं १ मा एक जना पनि क्वारेन्टाइनमा हुनुहुन्न । यो प्रदेशमा एक हजार ५८१ को आइसोलेशन बेड संख्या रहेकोमा ११७ जना आइसोलेशनमा हुनुहुन्छ । ११७ जनामध्ये ९० जना होम आइसोलेशन र २६ जना अस्पताल तथा स्थानीय तहले सञ्चालन गरेको आइसोलेशन आइसोलेशनमा बसेर उपचार गरिरहनुभएको छ ।
यो प्रदेशमा ११० वटा आईसीयूको संख्या रहेकोमा सात जना आईसीयू र ४० वटा भेन्टिलेटर रहेकोमा दुई जना संक्रमितको भेन्टिलेटरमा राखेर उपचार भैरहेको छ । यो प्रदेशमा ७० वटा आईसीयू र ३८ वटा भेन्टिलेटर खाली छ । २९ हजार ७२३ जनाले कोरोनालाई परास्त गर्नुभएको यो प्रदेशमा कोरोनाको कारणले २१७ जनाको ज्यान गएको छ ।
कुनै समय कोरोनाको केन्द्र बनेको प्रदेश नम्बर २ मा कोरोनाको कारण आईसीयू र भेन्टिलेटर नहुँदा भारतमा लगेर उपचार गराउने अवस्था थियो । यो प्रदेशमा अहिले आईसीयू बेड पूरै खाली छन् । ४८ वटा आईसीयू रहेको यो प्रदेशमा सबै आईसीयू खाली छन् भने २१ वटा भेन्टिलेटर रहेकोमा एक जनामात्रै भेन्टिलेटरमा उपचार गराइरहेका छन् ।
छ हजार ८३० वटा क्वारेन्टाइन बेड रहेको यो प्रदेशमा ३५ जना क्वारेन्टाइनमा ९२७ वटा आइसोलेशन बेड रहेकोमा ३६ जना होम आइसोलेशनमा र एक जना संस्थागत आइसोलेशनमा छन् । २० हजार चारसयले कोरोनालाई परास्त गरेको यो प्रदेशमा कोरोनाको कारणले २१५ जनाको ज्यान गैसकेको छ ।
बागमती प्रदेशका अस्पतालमा रहेका भेन्टिलेटर र आईसीयूमा संक्रमितको चाप निरन्तर रुपमा घटिरहेको छ । कुनै समयमा सामान्य बेड पाउन समेत मुस्किल पर्ने यो प्रदेशमा अहिले आईसीयू र भेन्टिलेटरमा संक्रमितको सामान्य चाप छ । ५५६ वटा आईसीयू बेड रहेकोमा ६८ वटामा संक्रमितको उपचार भैरहेको ४८८ वटा आईसीयू अझै खाली छन् । २५५ वटा भेन्टिलेटरमध्ये १८ वटामा संक्रमितको उपचार भैरहेकोमा यो प्रदेशमा २३७ वटा भेन्टिलेटर अझै खाली छन् । सात हजार ४७७ क्वारेन्टाइन बेड रहेकोमा २२१ जना क्वारेन्टाइन, चार हजार ७०७ आइसोलेशन बेड रहेकोमा ७०७ जना होम आइसोेलेशन र दुई हजार ६९५ जना संस्थागत आइसोलेशनमा छन् । कोरोनाको कारण यो प्रदेशमा ९३७ जनाको ज्यान गैसकेको छ ।
गण्डकी प्रदेशमा ५६ जना संक्रमितको आइसियुमा राखेर उपचार भैरहेको छ । २३२ आईसीयू रहेको यो प्रदेशमा १७६ वटा आईसीयू अझै खाली छन् । यो प्रदेशमा ६८ वटा भेन्टिलेटर रहेकोमा चारवटामा मात्रै संक्रमितको उपचार भैरहेको छ । ६४ वटा भेन्टिलेटर अझै खाली छन् । ६५८ क्वारेन्टाइन बेडरहेको सबै खाली छन् । एक हजार ६८९ आइसोलेशन बेडमध्ये २९७ जना होम आइसोलेशन र १०५ जना संस्थागत आइसोलेशनमा छन् । १८६ जनाको कोरोनाको कारणले मृत्यु भएको यो प्रदेशमा सकृय संक्रमितको सख्या ४०२ जना छ ।
लुम्बिनी प्रदेशमा ४९ जना संक्रमितको आइसियुमा राखेर उपचार भैरहेको छ । ११४ आईसीयू बेड रहेको यो प्रदेशमा ६५ वटा आईसीयू अझै खाली छन् । यो प्रदेशमा ३९ वटा भेन्टिलेटर रहेकोमा चारवटामा मात्रै संक्रमितको उपचार भैरहेको छ । ३१ वटा भेन्टिलेटर अझै खाली छन् । एक हजार ६५ आइसोलेशन बेडमध्ये ४७६ जना होम आइसोलेशन र ३१४ जना संस्थागत आइसोलेशनमा छन् । २३६ जनाको कोरोनाको कारणले मृत्यु भएको यो प्रदेशमा सकृय संक्रमितको सख्या ७८१ जना छ ।
एक हजार ९०६ वटा क्वारेन्टाइन बेड रहेको कर्णाली प्रदेशमा मा एक जनापनि क्वारेन्टाइनमा हुनुहुन्न । यो प्रदेशमा एक हजार ३८८ को आइसोलेशन बेड संख्या छ । ११७ जनामध्ये ३२ जना होम आइसोलेशन र ५० जना अस्पताल तथा स्थानीय तहले सञ्चालन गरेको आइसोलेशन आइसोलेशनमा बसेर उपचार गरिरहनुभएको छ ।
यो प्रदेशमा ११० वटा आइसियुको सख्या रहेकोमा सात जना आईसीयू र ४० वटा भेन्टिलेटर रहेकोमा दुई जना संक्रमितको भेन्टिलेटरमा राखेर उपचार भैरहेको छ । यो प्रदेशमा ६२ वटा आईसीयू र २७ वटा भेन्टिलेटर छ । त्यो मध्ये आईसीयूमा १४ जना र भेन्टिलेटरमा एक जनाको उपचार भैरहेको छ । यो प्रदेशमा ३५ वटा आईसीयू र २६ वटा भेन्टिलेटर खाली छन् । कोरोनाको कारणले यो प्रदेशमा ३५ जनाको मृत्यु भएको छ ।
सुदुरपश्चिम प्रदेशमा अहिले आईसीयू र भेन्टिलेटरमा संक्रमितको सामान्य चाप छ । २७ वटा आईसीयू बेड रहेकोमा ३ वटामा संक्रमितको उपचार भैरहेको २४ वटा आईसीयू अझै खाली छन् । २३ वटा भेन्टिलेटरमध्ये १ वटामा संक्रमितको उपचार भैरहेकोमा यो प्रदेशमा २२ वटा भेन्टिलेटर अझै खाली छन् ।
नौ हजार ८०७ क्वारेन्टाइन बेड रहेकोमा १११ जना क्वारेन्टाइन, दुई हजार ५९५ आइसोलेशन बेड रहेकोमा ३३७ जना होम आइसोेलेशन र दुई हजार ३३० जना संस्थागत आइसोलेशनमा छन् । कोरोनाका कारण यो प्रदेशमा ६२ जनाको ज्यान गैसकेको छ ।