अर्थमन्त्री तथा सत्तारुढ नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाललाई मुल घरमा फर्कन आग्रह गरेका छन् । पौडेलले आरोप पत्र फिर्ता लिएर सडक आन्दोलन स्थगित राखेर निर्वाचनमा जाने गरी फर्कन अनुरोध गरेका छन् ।
काठमाडौंमा बागमती प्रदेश सम्पर्क कमिटीको आम कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पौडेलले अदालतविरूद्ध आन्दोलन हो भने गम्भीर कुरा भएको भन्दै गल्ती नगर्न आग्रह गरेका छन् । संवैधानिक र राजनीतिक हिसाबले संसद विघटन ठीक भएको दावी पौडेलले गरेका छन् ।
जनता र देशको हितमा रहेकाले संसद विघटन प्रधानमन्त्रीको सही कदम भएको र भ्रम पाल्न जरूरी नभएको पौडेलले बताए । ताजा जनादेशका लागि जनता तयार रहेको भन्दै सडक आन्दोलन जरूरी नभएको उनको भनाइ छ ।
पार्टी एकता हुँदै गर्दानै प्रचण्ड अवसरवादी हो भन्ने लागिरहेको भन्दै नेता पौडेलले प्रचण्डका लागि पार्टी एकताको आधार पद, पावर भएको र विचार तथा जनताका विषयमा प्रचण्डले पदको सम्झौता गरेकाले प्रचण्ड अवरवादी भएको दावी गरे ।