राष्ट्रिय जनता पार्टी राजपा र समाजवादी पार्टी नेपाल मिलेर बनेको जनता समाजवादी पार्टी नेपाल जसपामा तीव्र खटपट देखिन थालेको छ । एकता प्रक्रिया नटुंगिँदै सो पार्टीमा आन्तरिक विवाद बढ्दै गएको हो ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा विभाजित बनेको अवस्थामा जसपामा पनि उस्तै खाले आन्तरिक विवाद देखिएको सो पार्टीका एक नेताले बताए । गत वैशाख १० गते एकता घोषणा भइ दुई अध्यक्षीय प्रणालीबाट चलेको पार्टीमा तीनजना अध्यक्ष छन् ।
महन्थ ठाकुर र उपेन्द्र यादव केन्द्रीय समितिका अध्यक्ष रहेका छन् भने डा.बाबुराम भट्टराई जसपा संघीय परिषद्का अध्यक्ष रहेका छन् । वैचारिक तथा सांगठनिक हिसाबले उपेन्द्र यादव र डा.बाबुराम भट्टराईबीच कुरा मिलेपनि महन्थ ठाकुरको त्यति कुरा मिल्दैन ।
एजेण्डा हिसाबमा कुरा मिलेपनि सैद्धान्तिक रुपमा कुरा नमिलेको नेताहरु बताउँछन् । उपेन्द्र यादव र डा.भट्टराई वामपन्थी विचारधाराका हुन् भने महन्थ ठाकुर डेमोक्र्याटिक लाइनका नेता हुन् ।
एजेण्डाकै कारण एकता पुरा नहुँदै पार्टीमा अन्तर संघर्ष शुरु भएको हो । यादव र डा.भटट्राईले गर्ने गतिविधिलाई महन्थ ठाकुर पक्षधर नेताहरुले रुचाएका छैनन् भने यादवले पार्टीमा मनपरी गरेको भन्दै ठाकुरले त्यसको विरोध गरेका छन् ।
विरोध मात्र होइन, ठाकुरले आफू निकट अर्थात पूर्व तमलोपाका नेताहरुसँग छुट्टै छलफल समेत थालेका छन् । बबरमहलस्थित तत्कालिन राजपा नेपालको पार्टी कार्यालयमा आफू निकटका नेताहरुसँग उनले यादव र जसपाकै वरिष्ठ नेता राजेन्द्र महतोसमेतको गतिविधिको विरोध गरेका थिए ।
यादव र वरिष्ठ नेता महतोले पार्टीमा कुनै निर्णय नै नगरी जिल्ला जिल्लामा आफूपक्षीय भेला र प्रशिक्षण कार्यक्रम चलाउन थालेको भन्दै ठाकुरले विरोध गरेका हुन् ।
डा.भटट्राई र उपेन्द्र यादवबीच हरेक कुरामा छलफल हुन्छन् र त्यही अनुसार अगाडि बढ्ने गरिएको छ भने वरिष्ठ नेता महतोले यादवसँग प्रतिस्पर्धा गर्दै अगाडि बढ्ने गरेको नेताहरु बताउँछन् ।
अध्यक्ष यादवले जहाँ–जहाँ कार्यक्रम गरेका हुन्छन्, महतो पनि त्यहाँ आफ्नो पक्षलाई केन्द्रीत गर्दै कार्यक्रमहरु गर्दै हिँडेका छन् । तर ठाकुर अहिलेसम्म त्यसरी कार्यक्रममा नहिँडेको उनी निकट नेताहरुको दावी छ ।
अब यादव र महतो जस्तै जिल्ला जिल्लामा कार्यक्रम गर्नुपर्छ भन्दै पुस ८ पनि उनले आफूपक्षीय भेला बोलाएका थिए । सो भेला राजधानीमै बोलाइएका कारण नेताहरु काठमाडौं आउने क्रम शुरु भएको थियो । तर पुस ५ गते नै राजनीतिक दुर्घटना भएपछि सो भेला स्थगित गरियो ।
यहीबीचमा प्रधानमन्त्री केपी ओलीको कदमविरुद्ध जसपाले पहिलो चरणको आन्दोलन गरिसकेको छ । थप कार्यक्रमको लागि पार्टीको बैठक बस्ने तयारी भइरहेको बताइएको छ । यद्यपी पार्टीभित्र विवाद भने ज्यूको त्यू रहेको छ भने आगामी दिनमा पार्टी थप जटिल मोड आउन सक्ने विश्लेषण गरिएको छ ।
प्रधानमन्त्री ओलीले संसद विघटन गरेसँगै वैशाख १७ गते र २८ गतेका लागि चुनावको मिति तय गरिएको छ । चुनावी गठबन्धनका लागि यादव र डा।भट्टराईको जोड प्रचण्ड–नेपाल समूहसँग सहकार्य गर्ने रहेको छ भने महन्थ ठाकुर र राजेन्द्र महतोको जोड काँग्रेस र ओली समूहसँग रहेको छ । प्रचण्ड–नेपाल समूहसँग महन्थ ठाकुर र राजेन्द्र महतो जान चाहेका छैनन् ।
महन्थ ठाकुरको पहिलो रोजाई काँग्रेस रहेको छ, त्यसपछि मात्र ओली समूहको नेकपा । राजेन्द्र महतोको पहिलो रोजाई ओली समूहको नेकपाको रहेको छ भने दोस्रो रोजाई काँग्रेस । तर यादव र डा.भट्टराईले प्रचण्ड–नेपाल समूहसँग सहकार्य गरेर जानुपर्ने भन्दै अहिलेदेखि जोड दिँदै आएका छन् ।
यादव र भट्टराईको जोडबलमा ठाकुर पक्षधर नेताहरुले रुचि नदेखाएपछि आगामी दिनमा थप समस्या आउन सक्ने पार्टीका नेताहरु बताउँछन् । यही विवादले चुनावी गठबन्धन बनाउने बेलामा जसपा नेपाल विभाजन हुने निकै खतरा रहेको पार्टीका कतिपय नेताहरु बताउँछन् भने असन्तुष्ट पक्षले पार्टी विभाजन गरि ओली समूहमा जान सक्ने विश्लेषण गरिएको छ।
कतै सहमतिमा बैठक, कतै तालाबन्दी
स्पष्ट रुपमा दुई समूहमा विभाजित नेकपाको विवाद केन्द्रदेखि गाउँसम्म पुगेको छ । लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा दुवै पक्षले औपचारिक तथा अनौपचारिक भेलाहरू गरेका छन् । पार्टीको आधिकारिकता कसले पाउने भन्ने अन्ययोल रहेका बेला कतिपय कार्यकर्ता पर्ख र हेरको अवस्थामा छन् ।
तर, पार्टी कार्यालयहरू आफ्नो पक्षमा पर्ने दाउमा जिल्लाका नेता कार्यकर्ताहरू लागिरहेका छन् । दाहाल–नेपाल पक्षले आइतबार सबै जिल्लामा भेला गरेको छ । अधिकाशं जिल्लामा केन्द्रीय नेताहरू नै पुगेर सम्बोधन गरेका छन् ।
सोही दिनमै ओली पक्षले पनि कतिपय जिल्लामा औपचारिक त कतिपय जिल्लामा अनौपचारिक भेला गरेको छ । लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये रोल्पा, नवलपरासी पश्चिम र प्युठान बाहेकका ९ जिल्लामा अगुवा कार्यकर्ता भेला गरिएको दाहाल–नेपाल पक्षका नेताहरूले बताएका छन् ।
सो पक्षको कार्यक्रम अनुसार रुपन्देहीको भेलालाई घनश्याम भुसाल, पूर्वसभामुख ओनसरी धर्ती, डा। विजय पौडेल, हकिकुल्ला खाँ, दधिराम न्यौपानेसहितका नेताहरूले सम्बोधन गरे ।
कपिलवस्तुमा चक्रपाणि खनाल, गिरिधारीलाल न्यौपाने, विष्णु पन्थीलगायतले सम्बोधन गरे । त्यसैगरी दाङमा युवराज ज्ञवाली, मेटमणि चौधरी तथा बाँकेमा योगेश भट्टराई, महेश्वर गहतराजलगायतले सम्बोधन गरेको सो समूहका नेतृ ओनसरी धर्तीले बताइन् ।
बर्दियामा प्रदेश सांसद हिमाल शर्मा, सन्तकुमार थारु, गुल्मीमा सुदर्शन बराल, दिनेश पन्थीलगायत सम्बोधन गरेका छन् । पाल्पाको भेलालाई नेता सोमप्रसाद पाण्डे, ठाकुर गैरे, तुलामाराम घर्तीले सम्बोधन गरे भने अर्घाखाँचीको भेलालाई रामकुमारी झाँक्री, डिलाराम आचार्य र सुशीला श्रीपालीले तथा रुकुम पूर्वमा गणेशमान पुनले सम्बोधन गरेका थिए ।
रोल्पा, नवलपरासी पश्चिम र प्युठानको जिल्ला भेला सोमबार हुँदैछ । लुम्बिनी प्रदेशका १२ जिल्लामा ७ वटा जिल्लामा दाहाल–नेपाल पक्षका अध्यक्ष छन् भने ५ जिल्ला अध्यक्षहरू ओली पक्षमा लागेका छन् ।
सहमतिमा आलोपालो बैठक
दाङमामा दुवै पक्षले पार्टी कार्यालयमै जिल्ला भेला गरेका छन् । सल्लाह गरेर दुवै समूहले आलोपालो बैठक गरेका हुन् । आइतबार बिहान ओली समूहले जिल्ला पार्टी कार्यालय घोराहीमा आफ्नो समूहको बैठक गरेको थियो ।
जिल्ला कार्यालय सदस्य हुकुमबहादुर बस्नेतको अध्यक्षतामा बैठक बसेको थियो । बिहान ९ बजेदेखि सुरू भएको बैठक बिहान ११ बजे सकिएको थियो।
त्यसपछि मध्यान्ह १२ बजेपछि सोही पार्टी कार्यालयमा नेकपा दाहाल–नेपाल समूहको बैठक सुरू भएको थियो । नेकपा दाङका अध्यक्ष टीकाराम खड्काको अध्यक्षतामा बैठक बसेको थियो ।
जारी बैठकमा नेकपाका प्रदेश सचिव जगप्रसाद शर्मा, जिल्ला इञ्चार्ज जीवन गौतम, सचिव तुल्सीराम पुनलगायतका सहभागी थिए । दुवै समूहको बैठक एकैदिन हुने जानकारी आएपछि जिल्ला पार्टी कार्यालयमा बाक्लो संख्यामा प्रहरी तैनाथ गरिएको थियो ।
प्युठानमा ओली पक्षको ताला
नेकपा प्यूठानको पार्टी कार्यालयमा ओली पक्षले तालाबन्दी गरेको छ । विजुवार खेलकुद मैदान नजिकै रहेको पार्टी कार्यालयमा ओली निकटका राष्ट्रिय यूवा संघ प्यूठानका नेताहरूले ताल्चा लगाएका हुन् ।
पूर्वएमालेको जिल्ला कमिटीले निर्माण गरेको पार्टी कार्यालयसँग आफूहरूको पौरख जोडिएकाले अरुको हातमा नदिने नेताहरूले बताएका छन् ।
यूवा संघका केन्द्रीय सदस्य एवं प्यूठान इन्चार्ज विनोद ओलीको नेतृत्वमा पुगेको टोलीले प्यूठानमा रहेको पार्टी कार्यालयसँग आफूहरूको पौरख गाँसिएको सुनाए । अर्को पक्षले ताला फोर्न सक्ने भन्दै पार्टी कार्यालय परिसरमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।