पुस ५ गतेबाट बुढानिलकण्ठ मन्दिर भक्तजनका लागि खुला गरिने

विश्‍वव्यापी रुपमा कोभिड-१९ भाइरसको सङ्क्रमण बढ्न थालेपछि गत वर्ष चैत ११ गतेदेखि भक्तजनका लागि बन्द गरिएको बुढानीलकण्ठ नारायणस्थान मन्दिर पुस ५ गते आइतबारदेखि भक्तजनका लागि खुला गरिने भएको छ । कोभिड महामारीका कारण नौ महिनासम्म बन्द गरिएको मन्दिर आइतबारदेखि भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर खुला गर्न लागिएको बुढानीलकण्ठ नारायणस्थान दशनामी मठका मठाधीश महन्त स्वामी निगमानन्दले जानकारी दिए ।

बिहान सवा आठ बजे मन्दिरमा आयोजना गरिने कार्यक्रममा वाग्मती प्रदेशसभा सदस्य दीपक निरौला र बूढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख उध्दवप्रसाद खरेलले मन्दिर खुला गरिएको घोषणा गर्नुहुने पनि उनले जानकारी दिए । नौ महिनासम्म मन्दिर बन्द गरिएपनि नित्य पूजा, आरती भने नियमति भइरहेको छ । मन्दिरमा चतुर्मासा, कार्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्म लाग्‍ने मेला भने यस वर्ष कोरोनाका कारण स्थगित गरिएको थियो । बुढानीलकण्ठमा हरि र हर अर्थात् विष्णु र शिव दुवै भगवान् रहनुभएको धार्मिक विश्‍वास छ ।

ठूलो शिलामा जलमाथि भगवान् शयन गर्नुभएको अलौकिक मूर्ति विश्‍वमै अद्वितीय मानिन्छ । यसैले विश्‍वभर रहेको वैदिक सनातन धर्मावलम्बी मन्दिरको दर्शनका लागि बूढानीलकण्ठ आउने गरेका छन् । चैत ११ गतेदेखि नै बन्द रहेको पशुपतिनाथ मन्दिर पनि पुस १ गतेदेखि भक्तजनका लागि खुला गरिएको छ । (रासस)

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *