प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रुपमा विहीबार साँझका लागि संवैधानिक परिषद् बैठक डाकेपछि बालुवाटार पुगेका नेकपाका अध्यक्ष पुष्पकमल दाहालले आफूसँग कुनै परामर्श नगरी बैठक डाकेकामा आपत्ति प्रकट गरेका छन्।
आकस्मिक रुपमा बालुवाटार पुगेका अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीसँग करिब २० मिनेट छलफल गरेका थिए। उनले ओलीसँग भने- ‘तपाईँले संवैधानिक मर्यादा नाघेर काम गर्नुभयो। मसँग परामर्श नगरी बैठक डाक्नुभयो।’
बुधबार संवैधानिक परिषद् सम्बन्धी विवादास्पद अध्यादेश फिर्ता लिने सहमति दाहालसँग गरेका ओलीले बिहीबार अचानक संवैधानिक परिषद् बैठक बोलाएका थिए। दाहाल आक्रोशित भएपछि ओलीले बैठक स्थगित गरेका छन्।
स्रोतका अनुसार दाहालले कड्किँदै ओलीसँग बालुवाटारमा भने- तपाईँ कहिल्यै पनि सच्चिनुहुन्न। मसँग परामर्श नगरी बैठक डाक्नुभयो। अध्यादेश फिर्ता लिने भएपछि हामीले तपाईँलाई माफी दिएका हौँ।’ दाहाल कड्किएपछि ओली परिषद् बैठक रोक्न राजी भएका हुन्।