काठमाडौँ । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएलगत्तै सरकारले मध्यावधि निर्वाचनको तयारी थालेको छ ।जारी अध्यादेश फिर्ता गर्न नेकपाको प्रचण्ड–नेपाल पक्ष, प्रमुख प्रतिपक्ष र अन्य दलहरुले दवाव दिएपछि सरकार मध्यावधि निर्वाचनको तयारीमा जुटेको हो ।बालुवाटार स्रोतका अनुसार दिउँसो बस्ने नेकपा स्थायी समितिको बैठकको निर्णयका आधारमा सरकारले कदम चाल्ने छ ।अध्यादेश फिर्ता लिन बाध्यपार्ने गरी निर्णय हुने, वा अध्यादेश अनुसार सिफारिस भएकाहरुको संसदीय सुनुवाई समितिबाट अनुमोदन नगर्ने स्थितिको आकलन गरेर मध्यावधि निर्वाचनको तयारी भएको हो ।
अहिले प्रधानमन्त्री केपी शर्मा ओली निकट समूहले मध्यावधि निर्वाचनमा जाने सरकारको निर्णयविरुद्ध अदालतमा रिट पर्ने हुँदा त्यसको परिणाम के आउँछ भन्ने सन्दर्भमा छलफल गरिरहेको छ ।स्रोतका अनुसार मध्यावधि निर्वाचनमा जाने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावलाई राष्ट्रपति विद्यादेवी भण्डारीले समेत असहमति राखेकी छिन् ।‘प्रधानमन्त्री केपी शर्मा ओली वार की पारको रुपमा अघि बढ्न चाहनु भएको छ, बालुवाटार स्रोतले नेपालवाचसँग भन्यो, आवश्यक पर्दा मध्यावधि निर्वाचनमा जानेबारे तयारी भएको छ ।’