गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले गणतन्त्रको विकल्प राजतन्त्र हुनै नसक्ने बताएका छन् ।
नेपाल पत्रकार महासंघ बागलुङ शाखाको १२ औं वार्षिक साधारणसभा तथा नव निर्मित भवनको उद्घाटन गर्दै गुरुङले यस्तो बताएका हुन् ।
मुख्यमन्त्री गुरुङले अहिले नै संघियताको समीक्षा गर्ने बेला नभएको समेत बताए ।
‘जसरी बिजुलीको विकल्प अगुल्टो हुन सक्दैन, त्यसरी नै गणतन्त्रका विकल्प राजतन्त्र हुन सक्दैन,’ उनले भने,‘अहिले नै संघियताको समीक्षा र विकल्प खोज्ने बेला भएका छैन ।’
उनले कोरोना महामारीले संघियताको औचित्यता सावित गरेको समेत बताए । ‘अहिले यसरी तीन तहको सरकार नभएको भए, प्रदेश र स्थानीय सरकारले सक्रियतापूर्वक काम नगरेको भए यो कोरोना महामारी यो भन्दा कैयौ
गुणा भयावह हुन्थ्यो,’ गुरुङले भने,‘संघियताकै कारण हामीले कोरोनालाई एक हदसम्म नियन्त्रणमा राख्न सकेका छौं ।’
उनले संघीय सरकार र प्रदेश सरकारबीचको कामको स्पीड नमिलेको बताए । ‘हामीलाई छिटो चाहिएको छ, बुलेट ट्रेनको गतिमा जानुपर्नेछ,’ उनी भन्छन्,‘संघीय सरकार विस्तारै जाने भन्छ । यसरी स्पीड नमिल्दा हामीले कैयौं पटक प्रधानमन्त्रीसंग आमने सामने भएका छौं ।’
उनले नीतिगत व्यवस्था गरेर दुई कार्यकाल अध्यक्ष भएका व्यक्ति पार्टीमा कार्यकारी पदमा बस्न नपाउनेगरी व्यवस्था गरेपछि नेकपा भित्रको विवादको समाधान आउने बताए । अहिले नेकपा फुट्नु या सरकारको नेतृत्व
परिवर्तन गर्नुले व्यवस्था माथि नै गम्भीर आघात पुग्ने उनको भनाई छ ।