नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुरेन्द्र राज पाण्डेले हत्याराहरूलाई नै जनताले भोट दिएर सत्तामा पुर्याउनाले मुलुकमा दण्डहीनता मौलाएको बताएका छन् ।
नेता पाण्डेले सामाजिक सञ्जाल फेसबुक मार्फर्त टिप्पणी गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मोरङको मिक्लाजुङमा शिक्षकको हत्या गरेको घटनाप्रति लक्षित गर्दै व्यक्ति हत्या गर्नेलाई ‘क्रान्ति’ भन्ने नमिल्ने र त्यस्ता प्रवृत्तिको विरोध गर्नुपर्ने औंल्याएका छन् ।
‘जहाँ व्यक्ति हत्यालाई क्रान्ति भनिन्छ र तिनै हत्याराहरूलाई क्रान्तिकारी ठानेर मतदान गरि सत्तामा पुर्याईन्छ, त्यही सत्ताले दण्डहीनतालाई प्रोत्साहित गर्दछ,’ कांग्रेस नेता पाण्डेले प्रश्न गरेका छन्, ‘त्यस्तो सत्ता र समाजबाट हत्या, हिंसाको अन्त्य कसरी होला र ?’
गत २३ गते विप्लव नेतृत्वको नेकपाले मिक्लाजुङ गाउँपालिकाका–१ स्थित सरस्वती आधारभूत स्कुलका प्रधानाध्यापक ५४ वर्षीय राजेन्द्र श्रेष्ठको हत्या गरेको थियो । विप्लव नेतृत्वको नेकपाले भने आफ्नो पार्टीको सुराकी गरेकाले राजेन्द्रको हत्या गरिएको जिकिर गरेको छ ।