पूर्वी क्षेत्रमा पहिलो पटक पाटेबाघ भेटिएको छ ।
इलामको ६ हजार १ सय ६५ मिटर उचाइमा पहिलोपटक पाटेबाघ फेला परेको हो । बारास्थित पर्सा निकुञ्जभन्दा पूर्वमा बाघ रेकर्ड भएको थिएन ।
कञ्चनजंघा भू–परिधिमा जीपीएस कलर गरिएका १० वटा हाब्रे (रेडपाण्डा) अनुगमन गर्न राखिएको २० वटा क्यामेरा ट्रयापमध्ये एउटा क्यामेरामा पाटेबाघ कैद भएको वन तथा भू–संरक्षण विभागले जनाएको छ ।
यो रेकर्डसँगै पूर्वी पहाडी क्षेत्रको कञ्चनजंघा भू–परिधिमा बिरालो प्रजातिको संख्या ८ पुगेको छ ।
चितुवा, ध्वाँसे चितुवा, हिउँ चितुवा, सुनौलो बिरालो, चरी बाघ, वन बिरालो र छिरबिरे बिरालो विगतमा रेकर्ड भइसकेका छन् । उक्त जैविक मार्ग कञ्जनजंघा संरक्षण क्षेत्र र भारतको सिंघलिला निकुञ्जसँग जोडिएको छ ।
विभाग र रेडपाण्डा नेटवर्कले हाब्रेको घाँटीमा जीपीएस कलर जडान गरी संयुक्त रुपमा रेडपाण्डाको अनुगमन गरिरहेका छन् ।
यसअघि गत चैतमा डडेलधुरामा २५०० मिटर उचाइमा बाघ भेटिएको थियो । भारतमा ३६३० र भुटानमा ४४०० मिटर उचाइसम्म बाघ भेटिएका छन् ।