अझै पनि हाम्रो छिमेकी राष्ट्र भारतमा जातीय विभेद कायम छ । दलितमाथिको अत्याचारकै कारण गत सोमबार मात्रै भारतमा एक दलित युवकको कुटीकुटी हत्या गरिएको छ ।
यो घटना भारतको मध्य प्रदेशस्थित किशनपुर गाउँको हो, जहाँ एक २५ वर्षीय दलित युवकले भोजमा खाना छोएको भन्दै कथित उच्च जातका दुई पुरुषले कुटीकुटी हत्या गरेका हुन् ।
भोज सकिने बेलामा भाँडा माझ्न पुगेका देवराज अनुरागी नामक ती युवकलाई भूरा सोनी र सन्तोष पाल नाम गरेका कथित उच्च जातका ब्यक्तिहरूले कुटीकुटी हत्या गरेका हुन् ।
प्रहरी अधिकृत जसवन्त सिंह राजपूतका अनुसार देवराजले आफ्नो लागि आफैं खाना पस्केको देखेपछि दुईजनाले रिसाउँदै उनलाई लट्ठी प्रहार गरेर हत्या गरेका थिए ।
उक्त घटनापछि सोनी र पाल फरार छन् । उनीहरूलाई दलितविरुद्धको ज्यादती रोकथाम ऐनअन्तर्गत हत्याको उजुरी दर्ता गरिएको बताइएको छ ।