चितवनका अस्पतालहरुमा १६७ कोरोना सङ्क्रमितको मृत्यु

चितवन । चितवनका विभिन्न अस्पतालमा उपचारका क्रममा १६७ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवनका ९६ जना रहेका छन् ।

जिल्लामा एक केन्द्रीयस्तरको अस्पताल र दुई ठूला मेडिकल कलेजसँगै अन्य निजी अस्पतालमा कोरोना सङ्क्रमितको उपचार भइरहेको छ ।

कतिपयको होमआइसोलेशनमा रहेको समयमा मृत्यु भएको छ भने कतिपयलाई उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

जिल्लाका अस्पतालमा अन्य जिल्लाबाट सङ्क्रमित उपचार गराउन आउने गर्दछन् । उपचारका क्रममा आएका चितवनसहित १४ जिल्लाका र छिमेकी भारतका बिरामीको यहाँ मृत्यु भएको हो । शवको व्यवस्थापन गर्दै आएको नेपाली सेनाको कालीबहादुर गण भरतपुरका अनुसार गणले १५८ वटा शवको व्यस्थापन आफैँले गरेको छ । बाँकी सम्बन्धित जिल्लामा समन्वय गरी अन्त्येष्टिका लागि लगिएको हो ।

शव व्यवस्थापनका क्रममा ७४ जनाको शव गाडिएको छ भने अन्यको जलाइएको छ । गणका अनुसार मृत्यु भएकामा चितवनबाहेक सबैभन्दा बढी ९२३ जना० नवलपरासी (त्रिवेणी सुस्ता पूर्व)का रहेका छन् । त्यसैगरी मकवानपुरका १८, रौतहट पाँच, सर्लाही चार, तनहुँ तीन, गोरखा छ, कैलाली दुई, रुपन्देही दुई, लमजुङ दुई, बारा, गुल्मी, धादिङ, स्याङ्जा, प्युठान र भारतका एक÷एक जनाको यहाँका विभिन्न अस्पतालमा मृत्यु भएको गणले जनाएको छ ।

जिल्लामा हालसम्म सङ्क्रमित भएका पाँच हजार ९८६ जनामध्ये ९६ जनाको मृत्यु भएको छ भने पाँच हजार ४८७ जना उपचारपछि निको भएका छन् । अहिले ४०२ जना विभिन्न आइसोलेसनमा रहेका छन् ।

अस्पतालमा उपचार गर्न आएर कोभिड सङ्क्रमण पुष्टि हुनेमा श्वासप्रश्वासमा समस्या, ज्वरो, खोकी, निमोनिया, मिर्गौला, मुटु, दम, झाडापखाला र हेपटाइटिस बि का बिरामीको बढी सङ्ख्यामा मृत्यु भएको पाइएको छ ।

स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकबाबु तिवारी सङ्क्रमित जटिल भएपछि उपचारका लागि आउने गरेकाले मृत्यु सङ्ख्या बढी भएको बताउँछन् । पछिल्लो समय काठमाडौँ जानुभन्दा सहज उपचार चितवनमा हुने भन्दै छिमेकी जिल्लाबाट आउने क्रम बढेको उनको भनाइ छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *