हवाई सुरक्षामा सुधार गरेको भन्दै इयुले गर्‍यो नेपालको प्रशंसा

युरोपियन युनियनले नेपालको हवाई क्षेत्रलाई कालो सूचीबाट हटाउने संकेत गरेको छ। अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसका अवसरमा इयुले नेपालले पछिल्लो समय सुरक्षामा महत्वपूर्ण सुधार गरेको बताएको छ।

इयुले विज्ञप्‍ति जारी गर्दै सुरक्षित हवाइ उडानका लागि नेपाल सरकार र युनियनका सदस्य राष्ट्रहरूको संयुक्त प्रयासबाट सुधार भएको बताएको छ। इयुले नेपालको उड्डयन क्षेत्र सुरक्षित नरहेको भन्दै सन् २०१३ देखि कालो सूचीमा राखेको थियो। इयुको कालो सूचीपछि नेपाली एयरलाइन्सलाई युरोप उडानमा प्रतिबन्ध थियो। युरोप मात्र नभएर अन्य देशहरूमा पनि उडान अनुमति पाउन नेपाली एयरलाइन्सलाई सास्ती भइरहेको थियो।

‘नेपाल सरकारले पछिल्लो समय जुन प्रयास गरेको छ, ती प्रशंसनीय छन्। हवाई सुरक्षाका चुनौतीसँग जुध्न जुन संयन्त्र विकास गर्न लागिएको छ, त्यो साँच्चिकै सकारात्मक कदम हो,’ इयुको विज्ञप्‍तिमा उल्लेख छ।

नेपाल सरकारले हवाई नियमन तथा सेवाप्रदायकलाई छुट्याउन संसदमा पेस गरेको विधेयकलाई इयुले सकारात्मक कदमका रूपमा लिएको छ। संसदमा विचाराधीन उक्त विधेयक कार्यान्वयन हुने उसको विश्वास छ। यसरी भएका पछिल्ला सुधारबाट इयुको कालो सूचीबाट नेपाललाई हटाउने बाटो खुल्ने उसले बताएको छ।

‘यी सुधारबाट नेपाललाई हवाई सुरक्षा सूचीबाट हटाउन प्रशस्त मार्ग दिनेछ,’ विज्ञप्तिमा भनिएको छ। इयुले नेपालमा हवाई दुर्घटना बढेको, नियामक र सेवाप्रदायक एउटै हुँदा सुरक्षा स्थापनामा कठिनाइ भएको भन्दै कालो सूचीबाट हटाउन आनाकानी गर्दै आएको थियो।

सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवाप्रदायकमा विभाजन गर्न कानुन बनाउन संसदमा विधेयक दर्ता गराएको छ। त्यस्तै गत वर्ष एयरबसको सहायतामा प्राधिकरणले नेपालका सबै हेलिकप्टर कम्पनीको सुरक्षा अडिट गराएको थियो। इयुले नेपालमा रहेका साना जहाज तथा हेलिकप्टर दुर्घटनाप्रति पनि चासो देखाउँदै आएको थियो।

कालो सूचीबाट हटाउन विभिन्न चरणका प्रक्रिया हुनेछन्। इयुका अनुसार पहिलो चरणमा ब्रसेल्समा प्राविधिक बैठक हुनेछ। नेपाल नागरिक उड्डयन प्राधिकरणले गरेका पछिल्ला सुधारबारे उक्त बैठकमा छलफल हुनेछ।

त्यस्तै दोस्रो चरणमा इयुको सुरक्षा विशेषज्ञ टोलीले नेपालको स्थलगत भ्रमण गर्नेछ। उक्त टोलीले पछिल्लो समय भएका सुधार कार्यान्वयनका पाटोबारे अवलोकन गर्नेछन्। यसपछि इयुको सुरक्षा नियोगले कालो सूचीबाट हटाउन इयुको हवाई सुरक्षा कमिटीमा अनुमोदनका लागि प्रस्ताव पेस गर्नेछ।

युरोपियन युनियनले प्रस्ताव अध्ययनपछि ठोस विषयवस्तुमाथि रहेर उड्डयन प्राधिकरणलाई सुरक्षा कार्यान्वयनका लागि प्राविधिक सहायता दिनेछ। अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले सन् २०१३ मा नेपालको हवाई आकाश असुरक्षित भएको भन्दै गम्भीर सुरक्षा चासो राखेको थियो। त्यसलगत्तै युरोपियन कमिसनकोसस्थलगत अडिट भ्रमण भएको थियो। उक्त भ्रमणबाट आइकाओले देखाएका सुरक्षा चासोहरू सम्बोधन नभएसम्म सुरक्षा सूचीमा राख्नुपर्ने सुझाव दिएको थियो।

नेपालमा वायुयान दुर्घटनादर अधिक रहेको र नियमन पनि प्रभावकारी नभएको इयुको निष्कर्ष थियो।आइकाओले सन् २०१७ मै नेपाललाई कालो सूचीबाट हटाए पनि इयुले भने कायमै राखेको छ। आइकाओले हटाएपछि नेपालले इयुलाई पछिल्लो समय सुधार भएको भन्दै पत्राचार गरेको थियो।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *