फेसबुकबाट सुरू भएको मायाले घर न घाटको बनायो

फेसबुकबाट चिनजानपछि बसेको माया प्रेमले जीवनमा कहिल्यै नभुल्ने चोट देला भनेर शुक्लाफाँटा नगरपालिका–४ की ताराले कहिल्यै पनि सोचेकी थिइनन्। फेसबुकबाट चिनजान र त्यसपछिको माया प्रेमले गहिरो घाउ देला भन्ने उनको कल्पना थिएन।

डडेल्धुराको परशुराम नगरपालिका ग्वानीका रमेशले वैदेशिक रोजगारीका सिलसिलामा विदेशमा छँदा फेसबुकमा निकै मायापिरतीका कुरा गरी भविष्यका मिठा सपना देखाई तारालाई आफ्नो बनाउने कसम खाएका थिए। मायापिरती बसेको एक वर्ष नबित्दै रमेश वैदेशिक रोजगारीबाट घर फर्किए। तारालाई आफ्नो बनाउन गरेको वाचा पूरा गर्न तारालाई भगाएर लगे।

‘गत वर्षको फागुन ११ गतेको कुरा हो’, ताराले भनिन्, ‘घरमै आएर रमेशले घरका अभिभावकसँग माग्नका लागि आमाबुवालाई पठाउँछु भनेर एक रात हाम्रै घरमा बसे। भोलिपल्ट मलाई पठाउन नजिकको झलारी बजारसम्म पुर्याउनुपर्छ भनेर कर गर्न थाले। नाइनास्ती गर्न सकिनँ। झलारी बजारसम्म गएँ।’

‘तिम्रो घरमा बिहे ल्याउन सक्दिन । तिम्रो परिवार गरिब रहेछ। मेरा साथीभाइ बिहेमा आउन मान्दैनन । तिमी जान्छ्यौ भने यहीँबाट हिँड भागी विवाह गरौँ’, रमेशको भनेको सम्झँदै ताराले भनिन्, ‘वैदेशिक रोजगारीबाट आएको केटा, व्यवस्था राम्रै होला। राम्रैसँग पाल्छ भन्ने सपना मनमा बुन्दै पछि लाग्ने निधो गरेँ, एक रात कैलालीको अत्तरियास्थित होटलमा बास बस्यौँ।’

त्यसपछि उनले तारालाई डडेल्धुराको परशुराम नगरपालिकास्थित ग्वानीस्थित घरमा लगे। एक-दुई महिना राम्रैसँग बित्यो। रमेशले पनि निकै राम्रो व्यवहार गरे। ‘जब म गर्भवती भएँ, मेरो मञ्जुरीबिना जबर्जस्ती गर्भपतनको औषधि खुवाई गर्भपतन गराइयो।’ असुरक्षित तरिकाले गर्भपतन गराउँदा रक्तस्राव हुन थाल्यो। ताराको रक्तस्राव हुने क्रम नरोकिएपछि कैलालीको धनगढीस्थित अस्पतालमा उपचारका लागि भर्ना गरियो। उपचारपछि तारा निको भइन्। दुवैजना माइती घरमा गए।

त्यसपछि झलारी बजारबाट फलफूल लिएर आउँछु भनी गएका रमेश फर्केनन्। गहँभरि आँशु खसाल्दै उनले भनिन्, ‘माइतीमै छाडेर भाग्नुभयो। कता गएको खबर नै गर्नुभएन। यतिका दिन बिते भनेर तीन दिनपछि फोनमै सोधेँ, प्रत्युत्तरमा रमेशले ‘तारा भन्ने तिमी को हौ म चिन्दिनँ, तेरो मेरो कुनै सम्बन्ध छैन। मेरो घरमा आए पछि तेरो लाश हुन्छ’ भनेर धम्की दिन थाले।’

‘सामाजिक सञ्जाल फेसबुकमा भएको चिनजानपछिको मायापिरतीका कुरा सम्झेर रुन थालेँ। केही सहारा थिएन। भगाएर लैजानेको घरमा जानका लागि हिम्मत भएन। मार्ने धम्की दिँदै आएकाले निकै मानसिक हिंसा सहनुपर्यो’, ताराले भनिन्। ताराले शुक्लाफाँटा नगरपालिकामा आयोजित लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा आयोजित अन्तरक्रिया कार्यक्रममा यस्तो पीडा पोखेकी हुन्।

रमेशले छाडेर गए भन्ने तारालाई अहिले पनि विश्वास छैन। उनले भनिन्, ‘कसैको उक्साहटमा रमेशले यस्तो गरेको हो। भेट गराइदिनुपर्यो। सम्झाएपछि अपनाउने अझै विश्वास छ। म ऊ बिना बाँच्न सक्दिनँ।’ यसरी घर न घाटकी भएकी तारा न्याय माग्दै झलारीस्थित सामुदायिक सेवा केन्द्रको शरणमा पुगेकी हुन्।

सेवा केन्द्रको सेफहाउसमा बसिरहेकी तारालाई न्याय दिलाउनका लागि महिला अधिकारकर्मीको सहयोगमा इलाका प्रहरी कार्यालय झलारीमा उजुरी दिइएको छ। ‘प्रहरीले अहिलेसम्म उजुरीको सुनवाइ गरेको छैन। प्रहरीमा उजुरी दिएको छ महिना बितेको छ’, अधिकारकर्मी बिष्नादेवी पन्तले भनिन्, ‘भगाएर अलपत्र छाडनेविरुद्धको उजुरी दिइए पनि प्रहरीले आजभोलि भन्दै आश्वासन मात्रै दिने गरेको छ। भगाएर लैजाने केटालाई यहाँ ल्याउन मानेकै छैन।’ सेवा केन्द्रका पदाधिकारी महिलासहित नगरपालिकाका उपप्रमुखको नेतृत्वमा गएको टोलीले परशुराम नगरपालिकास्थित प्रहरीमा समेत उजुरी गरेपछि रमेश त्यहाँसमेत फेला नपरेको गनको भनाइ छ।

प्रहरीमा उजुरी दिँदासमेत सुनुवाइ हुन नसकेपछि महिला अधिकारकर्मी तारालाई न्याय दिलाउनका लागि जुटेका छन्। इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्णबहादुर बोहरा दुवै पक्षलाई राखेर समस्याको समाधान गरिने बताएका छन्। अन्तरक्रिया कार्यक्रममा सहभागी अधिवक्ता उद्धवराज भट्ट महिलामाथि हुने ज्यादतिका अधिकांश घटना विद्यमान कानूनको कार्यान्वयन नगरिँदा बढ्दो क्रममा रहेको बताउँछिन्।

एकअर्काको भावना नबुझिकनै गरिने प्रेमविवाहसमेत असफल हुँदै गएको चर्चा गर्दै उनले यसरी गरिएका प्रेमविवाह एकअर्काप्रतिको अविश्वासका कारण बीचमै टुट्ने गरेकाले यसमा पनि महिला नै पीडित बन्ने गरेको बताइन्। उनका अनुसार देखासिखीमै गरिने प्रेमविवाहमा अधिकांश शिक्षित युवायुवती नै रहने गरेका छन्।

‘कानूनी उपचार नगरिकनै अधिकांश हिंसाका घटनालाई मिलापत्रमै टुङग्याइँदा यी घटनापछि विकराल रूपमा आउने गरेका छन्’, उनले भनिन्, ‘सबैभन्दा बढी यौनजन्य हिंसाका घटना बढी छन्। त्यसपछि मानसिक प्रताडनाका घटना आउने गरेका छन्।’

झलारी सामुदायिक सेवा केन्द्रमा गत साउन महिनादेखि हालसम्म घरेलु हिंसाका छ, गालीगलौजका १२, कुटपिटका २०, वादविवादका तीन, बालविवाहका पाँच, अलपत्र परेका महिला पाँच, बहुविवाहका चार गरी ५५ जनाले उजुरी गरेका छन्। तीमध्ये १५ जनालाई मनोपरामर्श र पाँच जनालाई मेलमिलापपछि घर फिर्ता गराइएको छ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *