हिजो गर्न नपाएको पुल उद्घाटन आज रामचन्द्र पौडेलले नै गर्ने

काठमाडौं- हिजो बुधबार लफडा भएर उद्घाटन हुन नसकेको तनहुँको बल्दी खोला पुल आज उद्घाटन हुने भएको छ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आज ११ बजे व्यास नगरपालिकाको वडा नम्बर १ र ११ जोड्ने बल्दी खोलाको पुल उद्‌घाटन गर्ने नेपाली कांग्रेसले जनाएको छ।

पौडेललाई बुधबार तनहुँ प्रशासनले पुल उद्घाटनमा रोक्‍नुका साथै प्रहरी नियन्त्रणमा लिएको थियो। चर्को दबाब र आलोचनामाथि प्रशासनले तीन घण्टापछि उनलाई रिहा गरेको थियो। हिजो उद्‌घाटन गर्न रोकिएको पुल आज बिहीबार बिहान ११ बजे वरिष्ठ नेता पौडेलले नै उद्घाटन गर्ने कांग्रेस प्रवक्ता विश्‍वप्रकाश शर्माले जानकारी दिएका छन् ।

उनले बिहीबार पनि प्रशासनले रोक्‍न खोजे कांग्रेसले प्रतिवाद गर्ने र देशभर प्रदर्शन गर्ने चेतावनीसमेत दिएका छन्। ‘बिहीबार ११ बजे वरिष्ठ नेता पौडेलले आज उद्घाटन गर्न रोकिएको पुल उद्घाटन गर्नुहुनेछ। म प्रधानमन्त्री, स्थानीय प्रशासनलाई कसैलाई पनि त्यहाँ बाधा सिर्जना नगर्न अपिल गर्दछु। बाधा सिर्जना गर्न खोजिए कडा प्रतिवाद गरिनेछ,’ शर्माले बुधबार राति भने।

उनले तनहुँको घटना दुखद भएकोसमेत बताएका छन्। उनले भने, ‘त्यो आकस्मिक घटना नभई सुनियोजित घटना हो। पुलको उद्‌घाटन गर्न त्यहाँ गएका पौडेललाई जानबाट रोकेर सरकारले आफ्नो चरित्र प्रष्ट पारेको छ।’

कांग्रेस सरकारकै पालामा शिलान्यास भएको उक्त पुल निर्माण कार्य सकिएपछि उपभोक्ता समितिले सर्वसम्मत रुपमा निर्णय गरेर पौडेललाई उद्‌घाटनका लागि निमन्त्रणा गरेको थियो। पौडेल त्यहाँ जाँदा ठाउँठाउँमा रोक्‍ने प्रयास गरिएको र उद्घाटन स्थलमा पुग्नै लाग्दा प्रहरीले नियन्त्रणमा लिएको थियो।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *