नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष माधवकुमार नेपालले केपी ओली प्रवृत्तिको आयु सकिएको बताएका छन्।
मंगलबार नेकपा प्रचण्ड-माधव समूहको विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले निरंकुश बाटो समातेका ओली प्रवृत्तिको आयु पुगेको बताएका हुन्।
‘पुस ५ गतेको निरंकुश कदमसँगै केपी ओली प्रवृत्तिको आयु पुग्यो’, अध्यक्ष नेपालले भने, ‘अब नेपाली जनता निरंकुश प्रविृतिको विरुद्ध दृढताकासाथ उभिएका छन्।’ नेपालले ओलीले नसच्चिए अब जनताले सडकबाट ठेगान लगाउने बताए। उनले भने, ओलीजी तपाई सच्चिनुस् नत्र जनताले बाँकी राख्ने छैनन्। तपाईलाई समयले पर्खिनेवाला छैन। जनताले सडकबाट ठेगान लगाउनेछन्।
ओलीले पुस ५ गते संविधानलाई खुट्टाले कुल्चिएको आरोपसमेत लगाएका छन्। ‘पुस ५ गतेका दिनमा कम्युनिस्ट पार्टीको एउटा नेताले जनताले संविधानको प्रावधानलाई खुट्टाले कुल्चिएर प्रतिनिधिसभाको विघटन गरेको छ। त्यो कुनै पनि हिसाबले उचित छैन’, नेता नेपालले भने।
यो निर्णय राजनीतिक र संवैधानिक र जनभावना अनुकुल नभएको उनले बताए। यो निर्णय नेपाल कम्युनिस्ट पार्टी नेकपा अनुरुप नभएको उनले प्रष्ट पारे। यो कदम जुनसुकै कोणबाट पनि अनुपयुक्त भएको उनको भनाइ छ।
‘केपी ओलीले त्यो निर्णय जुनसुकै कोणबाट हेर्दा पनि अनुपयुक्त छ। त्यो कदम जनता र हामी कम्युनिस्टलाई स्वीकार्य छैन। हामी असंवैधानिक कदमलाई अस्वीकार गर्दछौँ।
प्रतिनिधिसभा भंग भएपछि त्यो व्यक्ति प्रधानमन्त्री हुनै नसक्ने संवैधानिक प्रावधान भए पनि केपी ओलीले अफूलाई प्रधानमन्त्री ठानेको बताउँदै ओली कामचलाउ भएको बताए। ओलीलाई अझैसम्म पद बाँड्ने रहर भएको टिप्पणी गरे। मन्त्री बन्ने लोभ देखाएर ओलीले पद बाँडेको उनको आरोप छ।
उनले ओलीमा ज्ञानेन्द्रमा जस्तो प्रवृत्ति रहेको बताए। उनले भने, ‘ओलीले कहिले मलाई बोलाएर प्रधानमन्त्री बन्नुपर्यो भन्नुहुन्छ अनि केही बेरपछि फेरि प्रचण्डजीलाई बोलाएर तपाई नै बन्नुपर्यो भन्नुहुन्छ। यस्तै प्रवृत्ति थियो हिजो पूर्वराजा ज्ञानेन्द्रमा । उनले पनि कहिले मलाई त कहिले गिरिजाबाबुलाई बोलाएर तपाई नै अघि आउनुपर्यो भन्थे।’
अध्यक्ष नेपालले ओली अझै सुध्रिन्छन् कि भनेर पार्टी केन्द्रीय समिति र सदस्यबाट नहटाएको बताए । उनले केही व्यक्ति ओलीलाई सुधार गर्न लागि परेको र सुधार्न सके स्याबास दिने बताएका छन्।