सरकारले नेपाली भूमि कालापानीबाट भारतीय सेना हटाउन पहल गर्ने भएको छ । आगामी दिनमा हुने प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणमा त्यसबारे प्रस्ताव अगाडि बढाइने भएको हो ।
सरकारले नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको नयाँ नक्सा जारी गरेपछि त्यसको कार्यान्वयनमा अग्रसरता देखाएको छ । सरकार अब नेपाली भूमि कालापानीबाट भारतीय सेना हटाउने योजनामा लागेको छ । राजधानीमा मंगलबार आयोजित एक कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी दिनमा हुने भारत भ्रमणका क्रममा त्यसबारे प्रस्ताव गरिने बताए ।
उपप्रधानमन्त्री पोखरेलले नेपालको छिमेकी मुलुक भारतसँग सुमधुर सम्बन्ध रहेको उल्लेख गर्दै राष्ट्रियताको सवालमा ओली नेतृत्वको सरकार नझुक्ने दाबीसमेत गरे ।
उपप्रधानमन्त्री पोखरेलले जनचाहना र राष्ट्रियताको पक्षमा काम गर्न खोज्दा पार्टीभित्रैका केही नेताले सरकारको विरोध गरेकोमा दुखेसो व्यक्त गरे ।
उपप्रधानमन्त्री पोखरेलले सरकार र राष्ट्रियताको पक्षमा रहेको पार्टीलाई साथ दिन आग्रह समेत गरे ।