नेपाल कम्युनिष्ट पार्टी ओली पक्षका नेता ईश्वर पोखरेलले तत्कालीन दुई पार्टीबीचको एकताको गर्भमै समस्या रहेको बताएका छन् ।
पार्टीमा आएको विभाजनपछि पहिलो पटक आफ्नो निर्वाचन क्षेत्र (काठमाडौं–५)मा शनिबार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
त्यो समस्या मूलतः तत्कालीन कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का कारण सिर्जना भएको उनको भनाइ थियो ।
‘त्यो एकताको गर्भमै केही समस्या थिए’ पोखरेलको भनाइ छ, ‘हिजो हामीले संसदीय निर्वाचन, प्रदेशसभाको निर्वाचनमा जाने बेलामा अब साझा चुनाव चिन्ह हुन्छ सूर्य । साझा उम्मेदवार हुन्छन् भनेर हामीले तय गर्यौं । साझा घोषणापत्र हुन्छ भनेर हामीले तय गर्यौं । हामी गद्गद् भयौं, खुशी भयौं । तर, त्यो सहमति भए पनि २४ घण्टा पनि वित्न पाएन । प्रचण्डले हामीलाई खबर पठाउनुभयो, सूर्य चिन्ह लिएर हामी त चुनाव लड्न नसक्ने भयौं । हामी छाँगाबाट खसेजस्तो भयौं ।’
त्यसलाई पोखरेलले विचित्रको अवस्था र पहिलो गाँसमै ढुंगा लागेको रुपमा व्याख्या गरे ।
‘सहमति भएको २४ घण्टा भएको छैन विचित्रको अवस्था भयो’ उनले भने, ‘त्यो विचित्र अवस्था भनेको के हो भने उम्मेदवार साझा, घोषणापत्र साझा, चुनाव चिन्ह चाहिं आफ्नो–आफ्नो । जबकि २४ घण्टा पहिले एउटा निर्णय गरिएको थियो । हामीलाई पहिलो गाँसमै ढुंगा लाग्यो ।’